महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाह, जलवायु न्याय र हिमाली जोखिम प्रमुख एजेन्डा

डिसी नेपाल
८ असोज २०८३ ७:३०

काठमाडाैं। संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन्।

कतार एयरवेजको उडानबाट मंगलबार साँझ न्युयोर्क पुगेका शाहले बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे (नेपाली समयअनुसार शुक्रबार मध्यरातपछि) महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री शाहको सम्बोधनमा पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। भोटेकोसी क्षेत्रमा आएको बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय नेपालले विश्वमञ्चमा राख्ने तयारी गरेको छ।

नेपालले कम कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी गरेको छ। साथै, जलवायु परिवर्तनका कारण भएको क्षतिका लागि हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउँदै प्रभावित मुलुकलाई ऋणको थप भार नपर्ने गरी प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि जोड दिइनेछ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य सहभागी छन्। महासभाका विभिन्न कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह कतार हुँदै असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *