भारी वर्षाको जोखिम: अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह

डिसी नेपाल
८ असोज २०८३ १९:१७

बागलुङ। जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा असोज ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले स्थानीयवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धार सामग्रीसहित सुरक्षा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

प्रशासनले नदी तटीय क्षेत्र तथा भिरालो जमिन नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै जोखिमयुक्त बस्तीका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहहरूसँग समन्वय गरिरहेको छ। साथै, विपद्को अवस्थामा तत्काल उद्धार र उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी तथा एम्बुलेन्सलाई अलर्ट राखिएको छ।

सडक अवरोध हटाउन निजी क्षेत्र तथा निर्माण व्यवसायीहरूसँग समन्वय गरी जेसीबी र एक्साभेटरजस्ता ठूला उपकरणहरू तयारी अवस्थामा राख्न जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *