ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान

डिसी नेपाल
२० असोज २०७६ २०:५६

एथेन्स (रासस/एएफपी) । युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको १७.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशत पुग्ने ग्रीसको अर्थ मन्त्रालयले अनुमान गरेको छ।

आर्थिक संकटसँग जुधिरहेको ग्रीसलाई ठूलो ऋण दिएका युरोपेली संघ–अन्तर्राष्ट्रिय मुद्रा कोषले ग्रीसले आर्थिक सुधार तथा निजीकरणका कार्यहरुलाई तीब्रता दिनुपर्ने शर्त राखेका छन्।

ग्रीसमाथि आगामी वर्षहरुमा कूल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत रकम ऋण भुक्तानीका लागि छुट्याउनुपर्ने दबाब छ।

ग्रीसका प्रधानमन्त्री काइरियाकोस मिचोटाकिसले ऋणदातासँग यो लक्ष्यमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

ग्रीसले विगत छ वर्षदेखि झेल्दै आएको आर्थिक मन्दीबाट मुलुकलाई बिस्तारै सुधारका दिशामा अघि बढाए पनि ग्रीसको अर्थतन्त्र अझै पनि कमजोर अवस्थामा छ।

ग्रीसको सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको १८० प्रतिशतभन्दा बढी छ। त्यहीकारण ग्रीसको अर्थतन्त्रमाथि ऋणदाताहरुबाट निरन्तर कडा निगरानी गरिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी निवर्तमान प्रमुख क्रिस्चियन लागार्डले गत महिना ग्रीसले ऋणदाताका लागि जिडीपीको ३.५ प्रतिशत छुट्याउनुपर्ने भन्ने शर्त निकै बढी भएको प्रतिक्रिया दिएका थिए। यसले ग्रीसको अर्थतन्त्र सुधारमा ठूलो अवरोध ल्याउन सक्ने उहाँले बताएका छन्।

दशकौंसम्मको आर्थिक संकटका कारण ग्रीसले युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट संयुक्त रुपमा ३३० अर्ब अमेरिकी डलर ऋण लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *