महासभामा बालेनको प्रस्ताव : नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि तथा जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे। उनले हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीकै महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षणका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको नियमित निगरानी गर्ने तथा संयुक्त पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने प्रस्ताव गरे। साथै, हिमाली क्षेत्रमा विपद् आइपर्दा सीमापार राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आपसी समन्वयको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
उनले हिमालयलाई खण्डित सूचना र सहकार्यको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने बताए। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई कुनै एक देशको मात्र समस्या भनेर हेर्न नहुने भन्दै उनले साझा चुनौतीको सामना गर्न साझा संयन्त्र आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्री शाहले नेपालले आफ्नो भौगोलिक तथा पारिस्थितिक योगदानभन्दा पनि ठूलो विश्वव्यापी भूमिका निर्वाह गरिरहेको दाबी गरे। नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको उल्लेख गर्दै उनले वातावरण संरक्षण र जलवायु अनुकूलनका क्षेत्रमा नेपालले अघि बढाएका प्रयासबारे महासभालाई जानकारी गराए।
स्वच्छ ऊर्जाको बढ्दो आवश्यकता पूरा गर्न नेपालले जलविद्युत् विकासलाई प्राथमिकता दिइरहेको पनि उनले बताए। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको र स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रमलाई समेत बलियो बनाउँदै लगिएको प्रधानमन्त्री शाहको भनाइ थियो।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण विपद्का घटना बढिरहेको भन्दै नेपालले यस्ता जोखिमसँग जुध्न आफ्नो तयारी र क्षमता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
करिब एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै उनले उक्त विपद् नेपालमा मात्र सीमित त्रासदी नभएको बताए। हिमाली क्षेत्रमा देखिएको यस्तो विपद्ले विश्वलाई नै आगामी जोखिमप्रति सचेत गराएको भन्दै उनले जलवायु परिवर्तनको असर कम गर्न तत्काल र सामूहिक कदम चाल्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले हिमालय क्षेत्रको संरक्षण, जलवायु जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि नेपालले क्षेत्रीय र अन्तरराष्ट्रिय साझेदारीलाई प्राथमिकता दिने स्पष्ट पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment