पहिरोले पृथ्वी राजमार्ग ठप्प: अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक

अन्य राजमार्गको अवस्था यस्तो छ

डिसी नेपाल
९ असोज २०८३ १२:२१

काठमाडौं। लगातारको अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित बनेका छन्। काठमाडौं उपत्यका जोड्ने केही मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन् भने केही मार्गहरूमा भने यातायात सञ्चालन भइरहेको छ।

धादिङको कृष्णभीरनजिकै र ज्यामिरे क्षेत्रमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गरी अर्को आदेश नभएसम्मका लागि पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएका छन्।

त्यस्तै, कान्तिलोकपथअन्तर्गत मकवानपुरतर्फको सडक खुला रहे पनि ललितपुरको बागमती गाउँपालिका-३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

अर्कातर्फ, हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल–सिस्नेरी सडक खण्ड र त्रिभुवन राजपथमा भने हालसम्म पहिरो नगएकाले यातायात सञ्चालनमा रहेको जनाइएको छ।

सम्भावित बाढी-पहिरो र सडक अवरोधको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र ट्राफिक प्रहरी निरीक्षक रमेश विष्टसहितको टोली आफैँ फिल्डमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्लभित्रका सडक तथा जोखिमयुक्त क्षेत्रहरूको निरन्तर अनुगमन र निगरानी भइरहेको जानकारी दिएका छन्।

वर्षाका कारण जुनसुकै बेला पहिरो खसेर सडक थप अवरुद्ध हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ। साथै, विपद्को स्थितिमा उद्धार तथा राहतका लागि सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *