हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता: कमर्सियल तथा विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा पाइने

डिसी नेपाल
९ असोज २०८३ १३:१९

काठमाडौं। नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस सहकार्यसँगै अब देशभरका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री-वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८० प्रतिशतसम्म सहज र झन्झटरहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्।

उक्त समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन्।

यस सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्षसम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्नेछन्।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै आवश्यक सम्पूर्ण कागजात पेस भएको ३ देखि ५ कार्यदिनभित्रै कर्जा स्वीकृत हुने द्रुत व्यवस्था मिलाइएको छ। यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जालमार्फत तुरुन्तै लागू हुनेछ।

हिमालय अर्गनाइजेसनले नेपालको भौगोलिक बनावट र व्यावसायिक यातायातको मागलाई सम्बोधन गर्न विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डहरू आयात तथा बिक्री-वितरण गर्दै आएको छ।

जसमा म्याक्सस (SAIC Maxus) का प्रिमियम फोर-ह्विल ड्राइभ पिकअप, डोङफेङका २४ देखि ५० सिट क्षमताका शान्त र वातावरणमैत्री विद्युतीय सिटी तथा स्कुल बस, हुबेई ट्राइ-रिङका ४ देखि ३१ टनसम्मका हेभी-ड्युटी विद्युतीय ट्रक तथा टिपर र भारतको चर्चित फोर्स मोटर्सका माइक्रोबस तथा बहुउपयोगी सवारी साधनहरू समावेश छन्।

यीमध्ये १२ सय रुपैयाँको चार्जमा ४५० किमीसम्म रेन्ज दिने डोङफेङका इभी बसहरू नेपाल भित्रिसकेकाले ग्राहकले टेस्ट राइड र बुकिङ गर्न सक्नेछन् भने वीरगन्जबाट काठमाडौँ १० टन सामान ओसार्न जम्मा १५ सय रुपैयाँको बिजुली खर्च हुने ट्राइ-रिङका इभी ट्रकहरूले ढुवानी लागतमा ठूलो बचत पुर्‍याउनेछन्।

यस साझेदारिमार्फत दुवै संस्थाले मुलुकभर गुणस्तरीय हरित कर्जा विस्तार गर्दै यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने र देशको ढुवानी तथा यातायात क्षेत्रलाई थप आधुनिक एवं किफायती बनाउने लक्ष्य राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *