जब ‘कथा डबली’मा जीवन्त भए लाखे र कुमारीका कथा
काठमाडौं। अविरल झरीबिच पनि बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरले सांस्कृतिक डबलीको झल्को दिन्थ्यो। वसन्तपुरको इन्द्रजात्राको चहलपहल र नाचलाई प्रज्ञा–प्रतिष्ठानले आफ्नै आँगनमा उतार्दै ‘इन्द्रजात्रा: शारदीय पर्व’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो।
‘कथा डबली–१’ अन्तर्गत आयोजित सहरको कथा सुन्ने यस विशेष उत्सवमा उपस्थितहरू शताब्दीऔं पुराना नेवारी सांस्कृतिक कथा र मिथकमा प्रवेश गरे। प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा जात्राकै वास्तविक सांगीतिक र जीवन्त दृश्य प्रस्तुत भइरहेको थियो।
जब वज्रकला कुञ्जका कलाकारहरू मञ्चमा धाँ बाजा, भुस्याः (झ्याली) र बाँसुरीको तालमा प्रवेश गरे, तब वातावरणमा जात्राको रौनक छायो। राता रंगीन पहिरन, डरलाग्दा मुकुट लगाएका लाखेहरूको उफ्राइले दर्शक मन्त्रमुग्ध भए। कार्यक्रममा प्रस्तुत कुमारी नाचले उपस्थित दर्शकलाई उपत्यकाको जीवन्त सांस्कृतिक संसारमा प्रवेश गराएको थियो।
कार्यक्रमको मुख्य आकर्षण बने– नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर। उनले इन्द्रजात्रा, लाखे नाच, मयजु–कुमारीका मिथक, ऐतिहासिक कथा एवं तिनका असाध्यै गहिरा सांस्कृतिक महत्वमाथि जीवन्त प्रकाश पारे। ‘मिथले भन्छन्– इन्द्र देवराज हुन्। तर, उनले नेपालमण्डलमा आएर निर्वाह गरेको आचरण प्रचलित सामाजिक मर्यादको उल्लंघन हो। स्वर्गका अधिपत्य इन्द्र पनि सजाँयको भागि हुनु पर्दाेरहेछ,’ उनले भने, ‘अनेक आयाम छन्, थुप्रै लोक आख्यान र परम्परा छन् येँयाः इन्द्रजात्राको। यो पर्व सबै धर्म, सम्प्रदाय, जात, जातिको साझा जीवन्त सभ्यता हो अनि रैथानेहरुका गौरव गाथा हो।’
उनको ओझपूर्ण र कथात्मक शैलीमा वाचन गरिएको इन्द्रजात्राको कथाले श्रोतालाई प्राचीन नेवारी लोककथाको कालखण्डमा पुर्यायो। ‘मञ्चमा उनी बोल्दै गर्दा लाग्थ्यो, वर्षाका देवता इन्द्र र बन्दी बनाइएका उनकै कथा जीवन्त भएर डबली वरिपरि घुमिरहेका छन्,’ कार्यक्रमका श्रोता कवि स्नेह सायमी भन्दै थिए।
कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका ‘काव्य, संस्कृति र डिजिटलाइजेसन’ विभाग प्रमुख दीपक सापकोटाले उपत्यकाका जात्रा र पर्वहरूको ऐतिहासिक तथा सामाजिक महत्वमाथि प्रकाश पारेका थिए। उनले हाम्रा जात्राहरू समुदाय जोड्ने बलिया सांस्कृतिक धागो भएको बताए।
‘जात्राहरू जीवनमय भएकै कारण सहरहरू जीवन्त छन्। जात्रा चलायमान छन्, मानौं– यी अद्भुत प्राणले बाँचेका छन्। मानव जीवनजस्तै जात्राहरूको पनि आफ्नै धुन छ,’ दीपक सापकोटाले भने, ‘काठमाडौं उपत्यका भन्नु नै लोकाख्यान, जात्रा र उत्सवहरू हो। उपत्यकालाई जिउँदो राख्ने एक भव्य पक्ष हो– सानदार सांस्कृतिक वैभव अर्थात् जात्रा, नाच, भोज र संगीत। जात्राहरू पुरातन क्यालेन्डरमा दोहोरिइरहने केवल पर्व होइनन्, प्रत्येक वर्ष नयाँ जीवन पाइरहने र स्मृतिमा पुर्याइरहने जीवन्त सम्पदा हुन्, हाम्रो जीवनका अभिन्न हिस्सा हुन् र हन्– ऋतुमा आधारित अनुष्ठान, जसको आफ्नै जीवनचक्र छ।’
आधुनिकताको भीडमा हराउँदै गएका हाम्रा मौलिक संस्कृति र पर्वलाई कथा र कलाको माध्यमबाट पुनर्जीवित गर्न नेपालका विभिन्न सहर, गाउँमा ‘कथा डबली’ निरन्तर आयोजना गर्ने प्रज्ञा–प्रतिष्ठानको ‘काव्य, संस्कृति र डिजिटलाइजेसन’ विभागले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment