देशका १३ शहरमा सांगीतिक टुर गर्दै प्रकाश सपुत, प्रमोद खरेल, परम्परा र फिरन्ते ब्याण्ड
काठमाडौं। गायक प्रकाश सपुत, भाका नेपाल, प्रमोद खरेल, परम्परा ब्याण्ड र फिरन्ते ब्याण्डले देशका सातै प्रदेश समेट्ने गरी १३ वटा प्रमुख शहरहरूमा ‘सुरताल म्युजिकल टुर २०८३’ नामक सांगीतिक यात्रा गर्ने भएका छन्।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको यो सांगीतिक टुर यही असोज १० गते धनकुटाको हिलेबाट सुरु हुँदैछ। यात्राका क्रममा दर्शकहरूले नेपालका चर्चित कलाकारहरूका लोकप्रिय तथा नयाँ गीतहरूबाट मनोरञ्जन लिन पाउनेछन्।
परम्परागत कन्सर्टभन्दा फरक र अविस्मरणीय अनुभव दिलाउने गरी सम्पूर्ण तयारी गरिएको यो कार्यक्रममा प्रकाश सपुतका चर्चित एवं सन्देशमूलक गीत, भाका नेपालको लाइभ प्रस्तुति तथा प्रमोद खरेल, परम्परा ब्याण्ड र फिरन्ते ब्याण्डको ऊर्जावान् सांगीतिक प्रस्तुति समावेश हुनेछ।
कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन आधुनिक साउन्ड, भव्य लाइटिङ, लाइभ इन्स्ट्रुमेन्टका साथै गीतको भावअनुसार कोरस डान्स र मञ्चीय अभिनयको समेत संयोजन गरिने भएको छ भने सम्पूर्ण सांगीतिक माहोललाई जीवन्त राख्न कार्यक्रमको सञ्चालन निशा पन्थीले गर्नेछन्।
यो सांगीतिक यात्रा केवल मनोरञ्जनमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ, जहाँ खर्च कटाएर हुने कुल आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकहरूको राहत र पुनस्थापनाका लागि सहयोग गरिने सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले जानकारी दिएका छन्।
यसअघि पोखराबाट सुरु गर्ने तयारी गरिए पनि बाढी-पहिरोका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै पोखरा र धरानका कार्यक्रमहरू हाललाई स्थगित गरी हिलेबाट यात्रा प्रारम्भ गर्न लागिएको हो।
टुरको तालिका अनुसार पहिलो चरण असोज १० गते धनकुटाको हिलेबाट सुरु भई असोज १४ गते तेह्रथुम, असोज १७ गते खाँदबारी र असोज १९ गते बर्दिबासमा सञ्चालन हुनेछ।
त्यसैगरी दोस्रो चरणमा मंसिर २ गते महेन्द्रनगर, मंसिर ५ गते धनगढी, मंसिर ८ गते नेपालगञ्ज, मंसिर १२ गते सुर्खेत, मंसिर १६ गते तुलसीपुर, मंसिर १९ गते बुटवल र मंसिर २६ गते चितवनमा कार्यक्रम आयोजना गरिनेछ।
चितवनको कार्यक्रम सकिएपछि अन्तिम चरणमा पोखरा र धरानमा आयोजना गर्दै यो सांगीतिक यात्राको समापन गरिनेछ। मौलिक नेपाली संगीतलाई देशको कुना-काप्चासम्म पुर्याउने र विपद्को समयमा नागरिकहरूसँग एकाकार हुने उद्देश्यका साथ विभिन्न भूगोलका दर्शकमाझ नेपाली संगीतको मौलिक सुर र ताल पस्कन कलाकारहरूको टोली पूर्ण तयारीका साथ जुटिसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment