हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारका ९२ जनाको उद्धार

डिसी नेपाल
९ असोज २०८३ २०:४१

काठमाडौं। दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौसल्टारस्थित आदर्श जनप्रेमी स्कूलमा सारेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणीस्थलका ९२ जनालाई सुरक्षित रूपमा स्थानान्तरण गरेको जानकारी दिए।

भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातको साधनलाई आवतजावतमा रोक लगाएको छ।

निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीबाट सडक तथा जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए।

अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ।

अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काँभ्रेको नाला बनेपा जोड्ने सडकखण्डमा यातायात आवागमन सञ्चालन भएको छ।

वर्षासँगैको पहिरोले सडक अवरुद्ध भएपछि आज बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा सवारी आवागमन रोकिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *