भाेटेकाेशी बाढी

सुरुङभित्रको कठिन उद्धार विपद् प्रतिकार्यको साहसिक अध्याय: नेपाली सेनाको निष्कर्ष

डिसी नेपाल
११ असोज २०८३ ६:५८

काठमाडौं। रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनले निर्वाह गरेको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष नेपाली सेनाले निकालेको छ।

प्रतिकूल र तीव्र गतिमा परिवर्तन हुने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तर खसिरहेको पहिरोका साथै सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पन्न गरिएको सेनाले स्पष्ट पारेको छ।

भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

उनले भने, “संकटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ।”

रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनाका प्रयासबारे सेनाले राष्ट्रिय समाचार समिति (रासस) लाई उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ। विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको निष्कर्ष दस्तावेजमा निकालिएको छ।

भोटेकोशी बाढीमा खोज, उद्धार तथा विपद् व्यवस्थापन

गत भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको थियो। यस अप्रत्याशित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगेका थिए।

यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सेनाले जनाएको छ। विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए।

विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए। यसका साथै कम्पोजिट क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएको सेनाले उल्लेख गरेको छ।

भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनर्स्थापनाको कार्य द्रुत गतिमा अगाडि बढाएको थियो।

रणनीतिक हवाई उद्धार र राहत वितरण

भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनाएको थियो। एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको सैनिक प्रवक्ताले बताए।

त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू सञ्चालन गरिएका थिए। यस हवाई अभियानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक) को सकुशल उद्धार गरिएको सेनाले जनाएको छ।

यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता पहुँचविहीन स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाइएको थियो। टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक भारी उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको उनले बताए।

जमिनी खोज, उद्धार र शव व्यवस्थापन

रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धार कार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइएको थियो। सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक विच्छेद भएका बस्तीहरू-तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत स्थानमा निरन्तर पैदल गस्ती सञ्चालन गरेको थियो।

अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकी गरिएको उनले जानकारी दिए।

जमिनी उत्खनन र खोजीका क्रममा फेला परेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरिएको सेनाले जनाएको छ। स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरू सम्पन्न भएका थिए।

जोखिमपूर्ण सुरुङ (टनेल) भित्रको साहसिक उद्धार

यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धार कार्य बन्यो।

जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ जनाको उद्धार गरिएको थियो भने बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश्चात् सात जनाको जीवितै उद्धार गर्न सफल भएको सेनाले बताएको छ।

त्रिशूली-३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको थियो। माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत संकलन गरिएको उनले जानकारी दिए।

खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अंग संकलन गरिएको थियो।

रसुवागढी र त्रिशूली-३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धार कार्य जारी राखिएको सेनाले जनाएको छ। छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूका जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।

स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका प्रयास

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका अतिरिक्त प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरेको थियो। जसबाट बाढीबाट घाइते भएका र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरेको सेनाले जनाएको छ।

सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेला परेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्‍याएर आपत्कालीन उपचार प्रदान गरिएको थियो।

विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको उनले बताए।

खोज तथा उद्धार कार्यका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनर्स्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो।

स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिएका थिए। बेत्रावतीमा बेलीब्रिज निर्माण कार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइरहेको सेनाले उल्लेख गरेको छ।

नागरिक रक्षाका लागि सर्वोच्च कर्तव्य

समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय र अनुकरणीय रहेको निष्कर्ष निकालिएको छ। सम्पूर्ण उद्धार अभियान प्रतिकूल मौसम, साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, निरन्तरको पहिरो तथा सुरुङभित्रको लेदो र ठूला चट्टानजस्ता उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो। आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि कार्य गरेको उनले बताए।

विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान र limited space को जोखिमबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र सैनिक चरित्रको उदाहरण भएको उनले उल्लेख गरे।

राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर-निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश यस घटनाले दिएको छ। सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर सेनाले प्रदर्शन गरेको साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव र प्रेरणाको स्रोत रहने सेनाले स्पष्ट पारेको छ।

यस विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीचको समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *