मकवानपुरमा विपद्को जोखिम बढ्यो: प्रजिअ र सुरक्षा प्रमुखहरू स्थलगत अनुगमनमा
हेटौंडा। अविरल वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरुद्ध हुने क्रम बढेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा खटिएका छन्।
अनुगमन टोलीमा प्रजिअ अधिकारीसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बलका एसपी निमन खड्का, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरू संलग्न रहेका छन्। टोलीले जोखिमयुक्त क्षेत्रमा पुगेर वस्तुस्थितिको अनुगमन तथा उद्धार र व्यवस्थापनको काम तीव्र पारेको छ।
हेटौंडा उपमहानगरपालिका-१६ स्थित सिर्पाली चोक नजिकै धरान–चतरा सडकखण्डमा बिजुलीका १० वटा पोल ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
प्रहरी चौकी हटिया र नेपाल विद्युत् प्राधिकरण हेटौंडाको टोलीले सडकमा खसेका तार हटाई बिहान ७:२० बजेदेखि सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याएका छन्। लगातारको वर्षाले जमिन कमजोर भएकाले सिमेन्ट र रडबाट बनेका पोलहरू ढलेको प्रारम्भिक अनुमान छ।
स्थलगत निरीक्षणका क्रममा प्रजिअ अधिकारीले ढलेका पोलहरू तत्काल हटाएर प्रभावित क्षेत्रमा आजै विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
यता, स्थानीयहरूले भने सडक अवरुद्ध हुँदासमेत हेटौँडा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख निरीक्षणका लागि नपुगेको भन्दै गुनासो गरेका छन्।
यसैबीच, हेटौँडा–११ थानाभर्याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा पनि बिहान करिब ८:५० बजे पहिरो खसेर क्षति पुगेको छ। पहिरोका कारण बुद्ध पार्कसँगै पाथिभरा मन्दिरतर्फ जाने भित्री सडकसमेत जोखिममा परेको छ। प्रहरी चौकी थानाभर्याङको टोली घटनास्थलमा खटिएको छ र घटनामा कुनै मानवीय तथा चौपायाको क्षति नभएको पुष्टि भएको छ।
जिल्लामा वर्षा जारी रहेकाले अन्य जोखिमयुक्त क्षेत्रहरूमा पनि कडा निगरानी राखिएको सुरक्षा निकायले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment