भोटेकोशी बाढी: अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन जिल्ला प्रशासनको निर्देशन

डिसी नेपाल
११ असोज २०८३ १३:०१

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावक गुमाएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन प्रक्रिया अघि बढाएको छ।

कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै रसुवा र नुवाकोटमा स्थायी घर भई काठमाडौंमा अध्ययनरत तथा बाढीका कारण परिवारजनसँग सम्पर्कविहीन अवस्थामा रहेका बालबालिकाको व्यक्तिगत विवरण (प्रोफाइल) तयार गरी सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा बाढी आउनुअघि काठमाडौंका विभिन्न विद्यालयका छात्रावास वा अन्यत्र बसेर अध्ययन गरिरहेका रसुवा र नुवाकोटका विद्यार्थीमध्ये परिवारसँग सम्पर्क टुटेकाहरूको विवरण संकलन गरिनेछ।

यसका साथै, बाढीपछि प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका र विभिन्न विद्यालयका छात्रावास, गुम्बा, अनाथालय, बालगृह वा अस्थायी आवास (सेल्टर होम) मा राखिएका बालबालिकाको विवरणसमेत अनिवार्य रूपमा बुझाउन भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका निजी, आवासीय तथा सरकारी विद्यालय, गुम्बा, अनाथालय, बालगृह, अस्थायी आवास र बालबालिकालाई आश्रय दिइरहेका सामाजिक संस्थाहरूलाई यथाशीघ्र विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

कानुनी प्रक्रिया नपुर्‍याई बालबालिका राखे कारबाही हुने

प्रशासनले उद्धार गरिएका वा अभिभावकविहीन बालबालिकालाई कानुनी प्रक्रिया नपुर्‍याई कसैले आफूखुसी राख्न नपाइने विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

नेपाल सरकारका सम्बन्धित मन्त्रालय, स्थानीय प्रशासन तथा बाल अधिकार क्षेत्रका सरकारी निकायलाई जानकारी नगराई बालबालिकालाई लुकाइछिपाई राख्ने, प्रभावमा पार्ने वा प्रलोभनमा पार्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचना अनुसार बाढीपछि परिवारबाट छुट्टिएका र संरक्षणको आवश्यकता परेका बालबालिकाको यथार्थ अवस्था पहिचान गरी उनीहरूको सुरक्षा, संरक्षण तथा पुनर्मिलन प्रक्रियालाई व्यवस्थित बनाउन यो कदम चालिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *