चोलेन्द्रशमशेर पक्राउबारे कांग्रेसको आपत्ति: सरकारसँग माग्यो कानुनी आधार र औचित्य
काठमाडौं। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारको आधिकारिक धारणा माग गरेको छ। कांग्रेसले मध्यराति गरिएको उक्त पक्राउको कानुनी आधार र औचित्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी वक्तव्यमा नेपाली कांग्रेस संवैधानिक सर्वोच्चता, कानुनी शासन, नागरिक अधिकार तथा सबैका लागि कानुनको समान प्रयोगमा दृढ विश्वास राख्ने स्पष्ट पारिएको छ।
पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौंको बासबारीस्थित निवासबाटै प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। यद्यपि, उनको गिरफ्तारीलाई लिएर सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी र अस्पष्ट धारणाहरू सार्वजनिक भइरहेका छन्।
‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको गिरफ्तारीका सम्बन्धमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय हो । गिरफ्तारी कानुनसम्मत, आवश्यक र उचित थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नुपर्छ,’ कांग्रेसको वक्तव्यमा भनिएको छ।
कुनै विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने राज्यले त्यसको विश्वसनीय आधार स्पष्ट पार्नुपर्ने कांग्रेसको अडान छ।
कांग्रेस अपराधको अनुसन्धान र कानुनको कार्यान्वयनको विपक्षमा नरहेको तर कानुन कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण प्रक्रिया अपनाइएको अवस्थालाई स्वीकार गर्न नसकिने वक्तव्यमा उल्लेख छ।
प्रवक्ता चालिसेका अनुसार कानुनको शासन भनेको राज्यले कानुन प्रयोग गर्नु मात्र नभई राज्यका सबै निकायहरू स्वयं पनि संविधान र कानुनको सीमाभित्र रहनु हो। ‘कसैले कानुनको उल्लंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस्, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानुनबमोजिम सजाय होस्। तर गिरफ्तारी स्वयं दोषको प्रमाण हुँदैन ,’ वक्तव्यमा भनिएको छ।
राज्यसँग हुने शक्ति प्रयोग अझ बढी पारदर्शी, न्यायोचित र जवाफदेही हुनुपर्नेमा काङ्ग्रेसले जोड दिएको छ। जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment