अविरल वर्षा र हावाहुरीले मधेशमा ठूलो क्षति: पहिरोले घर पुरिँदा एकको मृत्यु, सयौं घर डुबानमा
जनकपुरधाम। अविरल वर्षा र तीव्र हावाहुरीका कारण मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा भौतिक क्षति हुनुका साथै जनजीवन नराम्ररी प्रभावित भएको छ।
धनुषाको मिथिला नगरपालिका-११ आपगाछीमा पहिरोले घर पुरिँदा ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ। नेपाल प्रहरी र जेसीबीको सहयोगमा उद्धार गर्दा कमलालाई मृत अवस्थामा निकालिएको थियो भने परिवारका अन्य चार जनालाई सकुशल उद्धार गरी बर्दिबास अस्पताल पठाइएको छ।
प्रदेशका अन्य जिल्लाहरूमा पनि हावाहुरी र वर्षाले ठूलो क्षति पुर्याएको छ। पर्साको ठोरीमा घरको छानो उडाएको छ भने बाराको कलैया र महोत्तरीको मनरा शिसवामा कच्ची घरहरू भत्किएर बस्न अयोग्य बनेका छन्।
यस्तै रौतहट र सर्लाहीका विभिन्न गाउँमा दर्जनाैँ कच्ची घर तथा गोठहरू ढलेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी र तिलाठी कोइलाडी क्षेत्रका करिब दुई सय घरधुरीमा कोशीको बाढी र वर्षाको पानी पसेर डुबान भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरी उद्धार र क्षतिको विवरण सङ्कलन भइरहेको छ। नदी किनार र डुबान जोखिममा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्रहरीले माइकिङमार्फत आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment