पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

डिसी नेपाल
१२ असोज २०८३ १२:३०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा खतरा रहेको भनिए पनि राति प्रहरीबाट पक्राउ गरिएको भन्दै गम्भीर प्रश्न उठाए। सुरक्षा खतरा भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको उनको भनाइ थियो।

संसद्मा बोल्दै उनले भने, “पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई यो थ्रेट भनेर वास्तवमा राति प्रहरीबाट पक्राउ गरियो। यो थ्रेट हुँदाखेरि मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्राउ गरेर लगिएको छ। सामान्य उहाँलाई भेट्न जाँदाखेरि एउटा संवैधानिक निकायको मानव अधिकारका कर्मीहरूलाई पनि भेट्न दिइएन। त्यस्तै गरिकन अहिले चाहिँ सामान्य सोधपुछ गरेर छाडिएको भनिएको छ। यी घटनाक्रमले सरकारले अहिले के भन्दाखेरि कानुन, विधि, प्रक्रिया जुन तरिकाले हामी सदनमा बहस गरिरहेका छौँ, छलफल गरिरहेका छौँ र सभ्य तरिकाले एउटा मुलुकलाई चलाउने कुराको बारेमा नीति निर्धारण गर्ने कुरामा जुन हामी छलफल गरिरहेका छौँ र सरकारका यी हर्कतहरूको बारेमा यसो देख्दै जाँदाखेरि सरकार किन बाटो बिराइरहेको छ?”

यसैगरी सांसद गिरीले असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै तत्काल विपद् व्यवस्थापनमा ध्यान दिन सरकारसँग माग गरे।

साथै, उनले दशैं–तिहारको समयमा सार्वजनिक यातायातमा ‘सिन्डिकेट’ लगाउने गरी हचुवाका भरमा निर्णय गरिएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। वैकल्पिक व्यवस्था नगरी सार्वजनिक यातायात सञ्चालनमा निर्णय गर्दा सर्वसाधारणलाई ठूलो सास्ती र समस्या पर्ने उनको भनाइ थियो।

सरकारले विगतमा गरेका प्रतिबद्धता र वाचाअनुसार काम गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै सांसद गिरीले सरकारका पछिल्ला गतिविधिप्रति संसद्मार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *