पाँच वर्षमुनिका बालबालिकामा श्वासप्रश्वास सङ्क्रमण बढ्यो
चितवन । चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा यस्तो सङ्क्रमण देखिने बालबालिकाको सङ्ख्या बढेको हो।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रतिहजार पाँच वर्षमुनिका बालबालिकामध्ये ३९६ जनामा शीघ्र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर प्रतिहजार ४३१ पुगेको छ।
हरेक वर्ष यस्तो समस्या भएका बालबालिकाको सङ्ख्या बढ्दै गएको भन्दै हमालले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको उनले बताए। उनका अनुसार इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका बालबालिकामा यस्तो सङ्क्रमणको दर बढ्दो छ।
चितवनमा हाल पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४५ हजार ६०८ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। बालबालिकामा शीघ्र श्वासप्रश्वासको अवस्था पहिचान गर्न उमेरअनुसार श्वास फेर्ने दरलाई आधार मानिन्छ। एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाले प्रतिमिनेट ४० पटकभन्दा बढी, दुई महिनादेखि एक वर्षसम्मका बालबालिकाले ५० पटकभन्दा बढी र दुई महिनाभन्दा कम उमेरका बालबालिकाले ६० पटकभन्दा बढी श्वास फेरेमा शीघ्र श्वासप्रश्वासको अवस्था मानिन्छ।
रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, निमोनिया हुने, बच्चाको कोखा हानिने तथा खान मन नगर्नेजस्ता लक्षण देखिएमा समस्या जटिल हुन सक्ने हमालले बताए। यस्ता लक्षण देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेका छन्।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटाले छिटो श्वासप्रश्वास हुनु आफैंमा रोग नभए पनि विभिन्न रोगको लक्षण हुन सक्ने बताए। उनका अनुसार बालबालिकामा निमोनिया, श्वासनलीमा समस्या तथा मौसमी फ्लुका कारण पनि शीघ्र श्वासप्रश्वासको समस्या देखिन सक्छ।
बालबालिकालाई यस्तो सङ्क्रमणबाट जोगाउन चिसो, धुवाँ र धुलोबाट बचाउनुपर्ने डा. देवकोटाको सुझाव छ। विशेषगरी मौसम परिवर्तनका बेला बालबालिकाको स्वास्थ्यमा थप ध्यान दिनुपर्ने उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment