हरिपुर्वामै भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा, स्थानीयलाई उपचारमा सहज
सर्लाही। नेपाल नेत्र ज्योति सङ्घअन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको विशेषज्ञ आँखा उपचार सेवा सर्लाहीको हरिपुर्वाबाट पनि सुरु भएको छ।
हरिपुर्वा नगरपालिका–२ स्थित नगर अस्पतालको भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा विस्तार गरिएको हो। सेवा विस्तार भएसँगै आँखासम्बन्धी विशेषज्ञ उपचारका लागि स्थानीयवासीले टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
गाउँमै विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध भएपछि स्थानीयवासी उत्साहित भएका छन्। उपचारका लागि केन्द्रमा पुगेकी हरिपुर्वा–३ की रुपनी देवीले गाउँमै सेवा पाउन थालेपछि आफूहरूलाई निकै सहज भएको बताइन्।
उनका अनुसार दुई महिनाअघि खेतमा काम गर्ने क्रममा धानको पातले आँखामा चोट लागेपछि उपचारका लागि जनकपुर र भरतपुरसम्म पुग्नुपरेको थियो। टाढा पुगेर उपचार गराउँदा समयसँगै खर्चसमेत धेरै भएको उनको अनुभव छ।
“दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो। उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो। दुःख धेरै पाइयो, खर्च उस्तै भयो। अहिले सबै सुविधा गाउँमै आयो,” उनले भनिन्।
उनले उपचार केन्द्रमा चिकित्सकको नियमित उपस्थिति हुनुपर्ने माग गरिन्। यसअघि विभिन्न स्थानमा स्वास्थ्य सेवा सुरु भएर केही समयपछि बन्द हुने गरेको अनुभव सुनाउँदै उनले हरिपुर्वामा सुरु भएको आँखा उपचार सेवा निरन्तर सञ्चालन हुनुपर्ने बताइन्।
सेवा नियमित रूपमा सञ्चालन भए हरिपुर्वासहित आसपासका स्थानीय तहका नागरिकले समेत लाभ लिन सक्ने उनको भनाइ छ।
हरिपुर्वा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबाबु रायले आँखा उपचारका लागि अब स्थानीयवासीले टाढा धाउनुपर्ने अवस्था अन्त्य हुने बताए। गाउँमै विशेषज्ञ सेवा उपलब्ध भएपछि आँखाका बिरामीलाई उपचारका लागि कहाँ जाने भन्ने अन्योलसमेत हट्ने उनको भनाइ छ।
नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीलाई आवश्यक पर्ने उपचार सामग्री तथा औषधिको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए। केन्द्रमा आवश्यकताअनुसार समय–समयमा मोतियाबिन्दुको शल्यक्रियालगायतका निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने उनले बताए।
नगरप्रमुख साह तेलीले नगर क्षेत्रका ज्येष्ठ नागरिकले आँखाको उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सेवा विस्तार गरिएको बताए। गाउँमै विशेषज्ञ सेवा उपलब्ध भएपछि विशेषगरी वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर परिवारलाई उपचारमा सहज हुने उनको भनाइ छ।
सेवा सञ्चालनमा आएसँगै उपचार केन्द्रमा आँखा जाँच तथा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको नगर स्वास्थ्य शाखाले जनाएको छ। भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध भएपछि हरिपुर्वा तथा आसपासका नागरिकलाई समय र उपचार खर्च बचत हुनुका साथै नियमित आँखा उपचारमा पहुँच बढ्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment