बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार, आँखाको सुरक्षामा विशेष ध्यान दिन चिकित्सकको आग्रह
चितवन। बाढीपहिरोपछि दूषित पानी र वातावरणका कारण आँखामा विभिन्न प्रकारका संक्रमण तथा चोटपटकको जोखिम बढ्ने भएकाले आँखाको सुरक्षामा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्।
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा पुष्पा गिरी श्रेष्ठले बाढीको दूषित पानीका कारण आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने तथा दृष्टि धमिलो हुनेजस्ता समस्या देखिन सक्ने बताइन्।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नागरिक प्रभावित भएकाले उनीहरूलाई आँखाको सुरक्षामा विशेष सावधानी अपनाउन उनले सुझाव दिइन्।
“आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ,” डा श्रेष्ठले भनिन्। उनका अनुसार सकेसम्म आँखालाई दूषित पानी तथा प्रदूषित वातावरणको सम्पर्कबाट जोगाउनुपर्छ। दूषित पानी आँखामा परेको अवस्थामा सफा पानीले तत्काल आँखा सफा गर्नुपर्ने र समस्या देखिएमा स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने उनले बताइन्।
यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकका लागि निःशुल्क आँखा उपचार सेवा सुरु गरेको छ। अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले सङ्घद्वारा सञ्चालित अस्पताल तथा उपचार केन्द्रमार्फत बाढी प्रभावितलाई निःशुल्क सेवा उपलब्ध गराइएको जानकारी दिए।
उनका अनुसार धादिङको सल्यानटार र बेनीघाट तथा चितवनको कुरिनटार र तनहुँको आँबुखैरहनीमा अस्पतालका उपचार केन्द्र सञ्चालनमा छन्। प्रभावित नागरिकले भरतपुर आँखा अस्पतालमा समेत पुगेर निःशुल्क उपचार सेवा लिन सक्ने उनले बताए।
बाढी प्रभावित क्षेत्रमा थप उपचार शिविर आवश्यक परेमा अस्पतालले एक्लै वा अन्य सङ्घसंस्थासँग सहकार्य गरी निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने तयारीसमेत गरेको सभापति श्रेष्ठले जानकारी दिए।
बाढीपछि दूषित पानीको सम्पर्कमा आएका नागरिकले आँखामा समस्या देखिनुअघि नै सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। विशेषगरी आँखा रातो हुने, दुख्ने, सुन्निने, पिप आउने वा दृष्टि धमिलो हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी विशेषज्ञ चिकित्सकबाट जाँच गराउन आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment