बागलुङमा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता
डिसी नेपाल
१३ असोज २०८३ ९:३५
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन्।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मानवीय क्षति बढ्दै गएको हो। शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो। त्यसपछि आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।
त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पछिल्लो घटनासहित जिल्लामा विपद्का कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो।
प्रहरी तथा स्थानीय प्रशासनले पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी राखेको जनाएको छ। बेपत्ता व्यक्तिको खोजी भइरहेको छ भने वर्षाका कारण जोखिममा रहेका बस्ती तथा परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ।
Facebook Comment