म्याग्दीमा सम्पर्कविहीन युवाको खोजीका लागि सञ्चार सेवा सुचारु गर्न सांसद राईको माग

डिसी नेपाल
१३ असोज २०८३ १०:५८

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले म्याग्दीमा सम्पर्कविहीन भएका एक युवाको खोजी तथा उद्धारका लागि तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले म्याग्दीस्थित जलविद्युत् आयोजना (हाइड्रोपावर) मा कार्यरत प्रधान थरका युवा सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको भन्दै उनको खोजीका लागि सरकारले तदारुकता देखाउनुपर्ने बताए।

आफूलाई भोजपुरबाट बिहानै टेलिफोनमार्फत घटनाबारे जानकारी आएको उल्लेख गर्दै उनले सम्बन्धित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध भएका कारण वास्तविक अवस्था र खोजतलासको प्रगति थाहा पाउन कठिन भइरहेको बताए।

सञ्चार सेवा नहुँदा उद्धार र खोजी कार्य प्रभावित भएको भन्दै उनले म्याग्दीको प्रभावित क्षेत्रमा अविलम्ब टेलिफोन तथा सञ्चार सेवा सञ्चालनमा ल्याउन सरकारसँग जोडदार माग गरे।

संसदमा बोल्दै सांसद राईले भने, “म्याग्दीमा प्रधान थरका एक जना युवा सम्पर्कविहीन हुनुहुन्छ। हाइड्रोपावरमा काम गर्ने मान्छे भनेर मलाई फोन आएको थियो। त्यहाँ सञ्चार सम्पर्क नहुँदा अवस्था बुझ्न गाह्रो भएको छ, त्यसैले सरकारलाई चाँडोभन्दा चाँडो त्यहाँको सञ्चार सेवा सुचारु गर्न ध्यानाकर्षण गराउन चाहन्छु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *