चार दिनको अविरल वर्षा र विपद्: देशभर ५४२ घटनामा २७ को मृत्यु, चार बेपत्ता र आठ घाइते
काठमाडौं। पछिल्लो पटक परेको भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना घटेका छन्, जसमा परी २७ जनाको ज्यान गएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका यी विपद्का घटनाहरूमा चार जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन्। यी घटनाहरूबाट कुल एक हजार ८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने ११४ वटा पशुचौपायाको क्षति भएको छ।
प्राधिकरणका अनुसार यस चार दिनको अवधिमा पहिरोका मात्रै ३०४ वटा घटना दर्ज भएका छन्, जसमा परी २० जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र सात जना घाइते भएका छन्।
त्यसैगरी बाढीका ८७ वटा घटनामा चार जनाको ज्यान गएको छ। भारी वर्षासँग सम्बन्धित अन्य १५१ वटा घटनामा थप तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्।
अविरल वर्षाका कारण देशभर २२७ घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी बाढी र पहिरोका कारण देशभरका ३१ वटा पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
डेढगाउँमा सबैभन्दा बढी वर्षा
प्राधिकरणको विवरण अनुसार चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा रेकर्ड भएको थियो।
जसमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डेढगाउँमा सबैभन्दा बढी ५४४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरियो। यस्तै कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलीमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा दर्ज भएको थियो।
बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण यो अवधिमा नेपालका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा भएको प्राधिकरणले स्पष्ट पारेको छ।
पूर्वसूचना प्रविधिबाट १० लाख नागरिकलाई चेतावनी
सम्भावित विपद्को जोखिम न्यूनीकरण र क्षति घटाउनका लागि प्राधिकरणले वर्षा सुरु हुनुअघि नै पूर्वसूचना तथा पूर्वतयारीका कार्यहरूलाई चुस्त बनाएको थियो।
पछिल्लो वर्षाको समयमा प्राधिकरणको ‘सिचुएसन रुम’ बाट लगातार ७६ घण्टासम्म मौसम तथा विपद् जोखिमको अनुगमन, सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वयका कामहरू निरन्तर रूपमा सम्पादन गरिएका थिए।
यस क्रममा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूमार्फत जोखिमयुक्त क्षेत्रका करिब नौ लाख ८० हजारभन्दा बढी नागरिकलाई लक्षित गरी बाढी चेतावनीसम्बन्धी एसएमएस पठाइएको थियो।
जसमध्ये उद्धार तथा प्रतिकार्यमा खटिएका पाँच हजारभन्दा बढी जनशक्ति र करिब नौ हजार पर्यटकहरूलाई समेत मौसम तथा विपद् जोखिमसम्बन्धी सतर्कता सूचना पठाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
सो अवधिमा प्राधिकरणले प्रमुख नदीहरूमा गरिने बाढी पूर्वानुमानको समय सीमा तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको थियो भने साना नदी तथा खोलामा आउने आकस्मिक बाढीको पूर्वानुमान समय २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याएको थियो।
प्रतिकार्य र दुई हजारको उद्धार
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वर्षाजन्य विपद्का कारण प्रत्यक्ष जोखिममा परेका करिब दुई हजार जना नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
उहाँका अनुसार जाजरकोट, म्याग्दी र बागलुङलगायतका दुर्गम जिल्लाहरूमा बाढी तथा पहिरोका कारण जोखिममा फसेका नागरिकहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। खोज, उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायहरू पूर्ण रूपमा परिचालित भएका थिए।
प्रवक्ता महतले भन्नुभयो, “असोज ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा जोखिममा परेका ७८ जनालाई हेलिकोप्टर प्रयोग गरी उद्धार गरेर सुरक्षित स्थानमा लगिएको थियो।” साथै जाजरकोटस्थित भेरी नदीको बीचमा रहेको टापुमा फसेका चार जनाको पनि हवाई उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ।
मनाङ र मुस्ताङमा नदी थुनिएपछि उच्च सतर्कता
भारी वर्षाका कारण असोज ११ गते साँझ मनाङको चामेमा गएको पहिरोले मर्स्याङ्दी नदीको जलप्रवाह अवरुद्ध भएको थियो।
त्यस्तै, मुस्ताङको थासाङ गाउँपालिका-३ मा खसेको पहिरोका कारण कालीगण्डकी नदीको बहाव रोकिएर जलप्रवाह प्रभावित भएको थियो।
नदी थुनिएपछि प्राधिकरणले दुवै नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला र स्थानीय तहका प्रतिकार्यकर्ताहरूलाई तत्काल सूचना पठाएको थियो।
असोज १२ गतेपछि भने नारायणीसहित देशका प्रमुख नदीहरूमा जलसतह क्रमशः घट्दै गएको र समग्र अवस्था सामान्यतातर्फ उन्मुख भइरहेको प्राधिकरणले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment