नेपाल र अष्ट्रेलियाबीचको प्रगाढ सम्बन्ध: बाढी संकटमा अष्ट्रेलियाली सहयोगको प्रधानमन्त्रीद्वारा प्रशंसा
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्।
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असोज १५ गते (बिहीबार) गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले सो आभार व्यक्त गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्रीले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए।
विपद् लगत्तै अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री र १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्रीले प्रशंसा गरे। साथै, अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनले बताए।
सो क्रममा बाढीका कारण बेपत्ता रहेका अष्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्री शाहले जानकारी दिए। उनले अष्ट्रेलियाले नेपालको मानव संसाधन विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि पनि धन्यवाद दिए।
भेटमा राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गरे। साथै, उनले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment