विराटनगरमा आजदेखि नाटक ‘समर लभ’को मञ्चन: अर्पण थापासहितका कलाकार वीरेन्द्र सभागृहको मञ्चमा

डिसी नेपाल
१७ असोज २०८३ ८:०६

विराटनगर। सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबार (असोज १७ गते) देखि विराटनगरमा मञ्चन हुने भएको छ। पूर्वी नेपालका दर्शकहरूको विशेष अनुरोधलाई सम्बोधन गर्दै कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो।

दुई दिनसम्म चल्ने यस मञ्चनका क्रममा दैनिक तीन-तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ। मञ्चनका लागि वीरेन्द्र सभागृहको मञ्च (स्टेज) निर्माण, प्रकाश, ध्वनि तथा अन्य सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको छ।

सुविन भट्टराईको बहुचर्चित उपन्यासलाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन्। कान्तिपुर थिएटरको छैटौँ नाट्य प्रस्तुति रहेको यस नाटकमा अतीत र सायाको चर्चित प्रेमकथा, युवावस्थाका उतारचढाव, सम्बन्धका आयाम र विछोडको मर्मलाई रङ्गशिल्पमार्फत प्रस्तुत गरिएको छ।

नाटकमा सागर खनालले ‘अतीत शर्मा’ र बास्ना तिमल्सिनाले ‘साया शाक्य’को मुख्य भूमिका निर्वाह गरेका छन्। यसै नाटकमार्फत चर्चित चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रङ्गमञ्चमा अभिनय यात्रा सुरु गरेका हुन्। त्यसैगरी विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, र जानकी बजगाईँलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

काठमाडौँमा मञ्चन हुँदा अत्यधिक दर्शकको साथ पाएको यस नाटकका प्रारम्भिक शोहरू अग्रिम रूपमा बुकिङ भएका थिए। करिब दुई घण्टा अवधिको यस नाटकमा जीवन्त संवाद, सशक्त प्रकाश-संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रङ्गकीर्ति दिइएको छ।

यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकलाई दर्शकले रुचाएकाले सोही निरन्तरता स्वरूप ‘समर लभ’ विराटनगर ल्याइएको कान्तिपुर थिएटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पुरीले जानकारी दिए। नेपाली रङ्गमञ्चलाई काठमाडौँ उपत्यकाबाहिरका दर्शकमाझ विस्तार गर्ने नीति अनुसार नै मोफसलका विभिन्न सहरहरूमा प्रस्तुति लैजाने तयारी भइरहेको पुरीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *