मधेसका मुद्दा कति समाधान भए भन्नेबारे गम्भीर समीक्षा आवश्यक छ : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूलाई विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न आग्रह गरेका छन्।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै घिसिङले २०६२/६३ पछिको करिब दुई दशकमा मधेसका राजनीतिक शक्तिहरूले उठाएका मुद्दा सही भए पनि तिनको कार्यान्वयन र सर्वसाधारणको जीवनमा परेको प्रभावबारे आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए।
‘हामीले मुद्दाहरू उठायौँ, ती मुद्दालाई जनतामाझ पुर्यायौँ। तर ती मुद्दा समाधान भए कि भएनन् र कार्यान्वयनको अवस्था के छ भन्नेबारे अब गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने।
मधेसवादी दलहरू क्षेत्रीय शक्तिका रूपमा सीमित भएको उल्लेख गर्दै घिसिङले राष्ट्रिय दलका रूपमा स्थापित हुन नसक्नुका कारण खोज्नुपर्ने बताए। आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायका लागि हिमाल, पहाड र तराईका मुद्दालाई एकीकृत रूपमा उठाउने सशक्त राष्ट्रिय राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ थियो।
घिसिङले राजनीतिक पद प्राप्ति र जनताको जीवनस्तर सुधारबीचको अन्तरबारे पनि प्रश्न उठाए। मधेसले देशको सर्वोच्च पदहरू प्राप्त गरिसकेको स्मरण गराउँदै उनले भने, ‘मधेसको छोरा राष्ट्रपति र उपराष्ट्रपति भइसकेको अवस्था छ। तर, यसबाट आम जनताको आधारभूत जीवनमा ठोस परिवर्तन आयो कि आएन भन्ने विषयमा गम्भीर मन्थन आवश्यक छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment