स्पेनमा भारी वर्षापछि बाढीको उच्च जोखिम : २० प्रशासनिक क्षेत्रमा यात्रा प्रतिबन्ध, रेल सेवा ठप्प

डिसी नेपाल
१८ असोज २०८३ १२:५३

म्याड्रिड।  अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको उच्च जोखिम बढेपछि स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई अत्यावश्यकबाहेकका यात्रा नगर्न कडा प्रतिबन्ध लगाएका छन्।

अवस्था गम्भीर बनेपछि कातालोनिया क्षेत्रमा बाढीसम्बन्धी आपत्कालीन योजना सक्रिय गराउँदै २० भन्दा बढी प्रशासनिक क्षेत्रहरूमा प्रतिबन्ध लागू गरिएको छ। सुरक्षालाई ध्यानमा राख्दै अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पूर्ण रूपमा स्थगित गरिएको छ।

मौसमविद्हरूका अनुसार मौसमको जोखिम उच्चतम तहमा पुगेको छ। केही स्थानमा ३ घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टाभित्र २०० मिलिमिटरसम्म मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित संकटलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका बासिन्दाको मोबाइल फोनमा आपत्कालीन सतर्कता सूचना पठाइएको छ।

कातलोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। मौसम विभागले भारी मेघगर्जन, तीव्र हावाहुरीका साथै पानीका बवण्डर (टोर्नाडो) समेत आउन सक्ने चेतावनी दिएको छ। उक्त आँधी उत्तरतर्फ सरिरहेको जनाइएको छ।

बाढीका कारण १०२ वर्षीया वृद्धाको मृत्यु

यसैबीच, मध्य-पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीका कारण १०२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। करिब दुई घण्टामै प्रति वर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको भीषण बाढीले स्थानीय घर, सवारीसाधन तथा सार्वजनिक पूर्वाधारहरूमा व्यापक क्षति पुर्याएको छ।

बाढी प्रभावित क्षेत्रबाट करिब ९० जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण स्थानीय स्वास्थ्य केन्द्र जलमग्न भई सेवा अवरुद्ध भएपछि हाल रेडक्रसको परिसरबाट अस्थायी रूपमा स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *