गृह र सामान्य प्रशासनमा हेरफेर, सीडीओसहित ४४ उपसचिवलाई नयाँ जिम्मेवारी
काठमाडाैं। सरकारले निजामती प्रशासनतर्फ व्यापक फेरबदल गर्दै एकैपटक ४४ जना उपसचिवको सरुवा तथा काज पदस्थापन गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार प्रशासनिक आवश्यकता र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले यी अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
मन्त्रालयद्वारा जारी सूचीअनुसार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने विभिन्न हिमाली तथा पहाडी जिल्लाका नेतृत्वसमेत परिवर्तन भएका छन्।
गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत केही उपसचिवहरू मन्त्रालय वा अन्य निकायमा तानिएका छन् भने मन्त्रालय तथा विभागमा कार्यरत अधिकारीहरूलाई नयाँ जिल्लाको कमान्ड सुम्पिएको छ।
सरुवा सूचीमा लोकबहादुर लोप्चन, रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल र जितेन्द्रकुमार यादवसहित वरिष्ठ उपसचिवहरू रहेका छन्।
उनीहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालय, विभागीय निकाय तथा मन्त्रालयहरूमा नयाँ जिम्मेवारी तोकिएको छ। यस्तै अर्घाखाँचीका सहायक प्रजिअ नेत्रप्रसाद घिमिरे र गृहका भक्तिराम मरासिनीसहितका अधिकारीहरूको पनि परस्पर सरुवा भएको छ।
सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका सम्पूर्ण ४४ जना उपसचिवहरूलाई यथाशीघ्र आफू खटाइएको नयाँ कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
निजामती सेवा ऐन र नियमावलीको प्रावधानअनुसार गरिएको यो सरुवासँगै सुस्ताएका कतिपय स्थानीय तह तथा जिल्ला प्रशासनको सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment