फ्रान्स कब्जा गर्ने कोसिस भइरहेको छ : ट्रम्प
President Donald Trump addresses a joint session of Congress in the House chamber at the U.S. Capitol in Washington, Tuesday, March 4, 2025. (AP Photo/Julia Demaree Nikhinson)
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा भइरहेको उग्र प्रदर्शनका लागि ‘अनियन्त्रित सामूहिक बसाइँसराइ’ र ‘इस्लाम’ लाई जिम्मेवार ठहराएका छन्। ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै लेखेका छन्, ‘यो कुनै समय महान् रहेको देश फ्रान्समाथि कब्जा गर्ने इस्लामको मनसायको कुरा हो!’
फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयहरूको अवस्थालाई लिएर विद्यार्थीहरूको तीव्र विरोध प्रदर्शन जारी छ। फ्रान्सेली हाइस्कुलका विद्यार्थीहरूले विद्यालयहरूमा शिक्षकहरूको कमी, कक्षाकोठामा अत्याधिक भिड, फितलो पूर्वाधार र स्रोत-साधनको अभावलाई लिएर प्रदर्शन सुरु गरेका थिए। यो प्रदर्शन बिस्तारै देशका धेरै सहरहरूमा फैलियो।
राजधानी पेरिससहित मार्सेई, लियोन, लिल र स्ट्रासबर्ग जस्ता प्रमुख सहरहरूमा विद्यार्थीहरूले विद्यालयका प्रवेशद्वारहरू ठप्प पारिदिए। धेरै ठाउँमा प्रदर्शनहरू हिंसात्मक बनेका छन्, जसका कारण प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको छ। यस क्रममा सवारी साधनहरूमा आगजनी गरिएका घटनाहरूसमेत बाहिर आएका छन्।
यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार फ्रान्समा जारी विद्यार्थी प्रदर्शनमाथि तिखो हमला बोलेका हुन्। ट्रुथ सोसलमा पोस्ट गर्दै उनले भने, “फ्रान्समा जे भइरहेको छ, त्यो अनियन्त्रित मास माइग्रेसनबाहेक केही होइन। यो विद्यालयहरूको विषय मात्र होइन, यो कहिल्यै महान् रहेको देश फ्रान्समाथि कब्जा गर्ने इस्लामको मनसाय हो।”
फ्रान्सेली गृह मन्त्रालयका अनुसार मङ्गलबार देशभर करिब साढे दुई लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। आयोजकहरूले भने यो सङ्ख्या चार लाखभन्दा बढी रहेको दाबी गरेका छन्। प्रदर्शनकारीहरूको मुख्य मुद्दा शिक्षा प्रणालीमा सुधार गर्नु नै थियो। यद्यपि, केही प्रदर्शनहरूमा हिंसा भड्किएपछि राजनीतिक बहस निकै चर्किएको छ।
ट्रम्पले यी घटनाहरूलाई सोझै इस्लाम र बसाइँसराइसँग जोडेका छन्। ट्रम्पले युरोपको लचिलो बसाइँसराइ नीतिको पहिले पनि आलोचना गर्दै आएका थिए। ट्रम्प प्रशासनले लामो समयदेखि युरोपेली देशहरूलाई आफ्ना सीमाहरू कडा बनाउन अपिल गर्दै आएको छ। फ्रान्समा यस प्रदर्शनलाई लिएर दक्षिणपन्थी दलहरूले पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्।
‘नेसनल र्याली’ की नेता मरीन ले पेनले हिंसात्मक घटनाहरूमा संलग्नहरूका लागि कडा सजायको माग गरेकी छन्। अर्कातर्फ, फ्रान्सेली सरकारले प्रदर्शनहरूलाई नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षा बल परिचालन गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment