न्युयोर्कको मेयरमा ममदानीको जितले फेरियो युरोपको राजनीति

डिसी नेपाल
२१ असोज २०८३ १६:४४
100
Shares

काठमाडौं । गत वर्ष नोभेम्बरमा न्यूयोर्कको मेयरमा जोहरान ममदानीले हासिल गरेको जितले अहिले अमेरिकामा मात्र नभई युरोपका वामपन्थी तथा प्रगतिशील दलहरूको राजनीतिमा समेत ठुलो प्रभाव पार्न थालेको छ।

बढ्दो महँगी, अत्यधिक घरभाडा र दैनिक जीवनयापनको खर्चलाई मुख्य चुनावी मुद्दा बनाएर आम जनतालाई लक्षित गरी चलाइएको उनको अभियान युरोपेली नेताहरूका लागि एउटा सफल ‘राजनीतिक मोडल’ बनेको छ।

जर्मनीमा ४५ वर्षीया वकिल एलिफ एराल्पले जर्मनीको ‘दी लिङ्के’ पार्टीबाट बर्लिनमा चुनाव जितिन्। उनले निजी कम्पनीहरूका हातमा रहेका करिब २.२ लाख घरहरूलाई सार्वजनिक नियन्त्रणमा ल्याउने र भाडा नियन्त्रण गर्ने मुख्य मुद्दा बनाएकी थिइन् ।

उनको पार्टीले २५.७% मत ल्याएर सबैभन्दा ठुलो दल बन्यो। जर्मन मिडियाले उनलाई ‘बर्लिनकी ममदानी’ उपनाम दिएका छन्।

बेलायतमा ग्रिन पार्टीका नेता ज्याक पोलान्सकीले वातावरणीय मुद्दाहरूलाई महँगी, घरभाडा र धनीहरूमाथिको करसँग जोडेर ‘इको-पपुलिजम’ को अवधारणा ल्याएका छन्। पोलान्सकीको भिडियो टिमले ममदानीको सोसल मिडिया रणनीतिकारहरूबाट प्रत्यक्ष सल्लाह र टिप्स लिइरहेको छ। लन्डनको होल्बोर्न सीटमा अक्टोबर ८ मा हुने उपनिर्वाचनमा ग्रिन पार्टीको मत १०% बाट बढेर ४०% पुग्ने अनुमान गरिएको छ।

स्पेनको म्याड्रिडमा ८७ वर्षीया वृद्धा मारिकर्मेन अबास्कललाई ७० वर्षदेखि बसिरहेको घरबाट निकालिएपछि देशभर तीव्र विरोध प्रदर्शन भयो। घरभाडा र आवास सङ्कट यति ठुलो मुद्दा बन्यो कि संसद्‌मा सरकारी प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले नोभेम्बर २९ का लागि समयअगावै आम निर्वाचनको घोषणा गर्नुपर्‍यो।

फ्रान्समा समाजवादी पार्टीका मेयर इम्यानुएल ग्रेगोयरले ६० हजार नयाँ सस्ता घरहरू बनाउने र खाली घरहरूलाई आम जनताको पहुँचमा ल्याउने नीति लिएका छन्। नेदरल्यान्ड्समा डी६६ पार्टीका नेता रोब येटनले ४ लाख घरको अभावलाई मुद्दा बनाउँदै बर्सेनि १ लाख नयाँ घर बनाउने प्रतिबद्धता जनाए। फलस्वरूप, उनको पार्टी सन् २०२३ को ९ सीटबाट बढेर सन् २०२५ मा २६ सीट जित्न सफल भयो।

जोहरान ममदानीको विजयले युरोपका वामपन्थी र हरित दलहरूलाई परम्परागत सिद्धान्तबाट माथि उठेर ‘सर्वसाधारणको खल्ती, घरभाडा र महँगी’ जस्ता दैनिक जीवनसँग जोडिएका प्रत्यक्ष मुद्दाहरूमा केन्द्रित भई चुनाव जित्ने नयाँ दिशा दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *