देशभर पश्चिमी र मनसुनी वायुको प्रभाव, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसको प्रभावले गर्दा बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भूभागका साथै कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली (बादल लाग्ने) भएको छ। त्यस्तै मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशको हिमाली तथा पहाडी भूभाग र कोशी, मधेश, बागमती एवं गण्डकी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा असिना, चट्याङ र हल्का वर्षा वा हिमपातको सम्भावना छ।
तराई भूभागको हकमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिएको छ।
विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति भने कोशी प्रदेशका सबै भूभागका साथै देशका बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनुका साथै मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment