मधेसमा घट्यो विद्युत् चुहावट, दुई महिनामै २० करोडभन्दा बढी बक्यौता असुल

डिसी नेपाल
२२ असोज २०८३ ९:२५
8
Shares

जनकपुरधाम । मधेस प्रदेशमा पछिल्ला केही वर्षयता विद्युत् चुहावट निरन्तर घट्दै गएको छ। विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा नियमित विद्युत् रिडिङलगायतका काम प्रभावकारी बन्दै गएपछि चुहावट घटेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको साउन र भदौमा २२ दशमलव ५६ प्रतिशत विद्युत् चुहावट रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २० दशमलव ९५ प्रतिशतमा पुगेको हो।

चालु आर्थिक वर्षको साउनमा २० दशमलव ०९ प्रतिशत र भदौमा २१ दशमलव ७६ प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरणले जनाएको छ। गत आर्थिक वर्षको साउनमा २५ दशमलव ६७ प्रतिशत र भदौमा २३ दशमलव ५२ प्रतिशत चुहावट भएको थियो।

विद्युत् चुहावट सबैभन्दा कम बाराको सिमरा वितरण केन्द्रमा देखिएको छ। त्यहाँ २ दशमलव ९४ प्रतिशत मात्र चुहावट भएको छ। सबैभन्दा बढी भने रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत विद्युत् चुहावट भएको प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतले जानकारी दिए।

उनका अनुसार रौतहटको मौलापुर र गौर क्षेत्र तथा सर्लाहीको मलङ्गवालगायत क्षेत्रमा विद्युत् चुहावटको समस्या तुलनात्मक रूपमा बढी देखिएको छ। औद्योगिक ग्राहकको सङ्ख्या धेरै भएकाले बाराको सिमरा वितरण केन्द्रमा भने विद्युत् चुहावट कम रहेको उनले बताए।

प्राधिकरणले विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध लाइन काट्ने अभियानलाई पनि तीव्रता दिएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा महसुल नतिर्ने ८ हजार ७८२ ग्राहकको विद्युत् लाइन काटिएको छ। लाइन काटिएकामध्ये ८ हजार २३४ ग्राहकले बक्यौता तिरेर पुनःविद्युत् जडान गराएका छन्।

पुनःविद्युत् जडान गराएका ग्राहकबाट मात्रै रु २० करोड ९ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ।

मिटर लिएर विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले लाइन काट्ने अभियान सञ्चालन गरिएको प्रमुख कुसियैतले बताए। गत आर्थिक वर्षमा मात्रै ४२ हजार ६६४ ग्राहकको विद्युत् लाइन काटिएको थियो। ती ग्राहकबाट रु एक अर्ब ४७ लाख बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ।

मधेस प्रदेशमा औद्योगिक ग्राहकको हिस्सा ५९ प्रतिशत र घरेलु ग्राहकको हिस्सा ३१ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ। प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र विद्युत् सेवा नपुगेका बाँकी क्षेत्रमा पनि निरन्तर जडानको काम भइरहेको प्रमुख कुसियैतले बताए।

मधेस प्रदेशका विभिन्न जिल्लामा सिँचाइका लागि विद्युत् विस्तारको कामसमेत भइरहेको छ। हालसम्म प्रदेशमा करिब १० प्रतिशत क्षेत्रमा सिँचाइको विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *