एलन मस्कको आरोप: भारतमा स्टारलिङ्कको प्रवेश रोक्दै केही उद्योगपति
काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले केही खास उद्योगपतिहरूले भारतमा ‘स्टारलिङ्क’ को प्रवेशलाई रोकिरहेको गम्भीर आरोप लगाएका छन्।
मस्कले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एक पोस्टको जवाफ दिँदै लेखेका छन्, ‘दुर्भाग्यवश, भारतीय जनतामाथि आफ्नो ‘एकाधिकार’ कायम रहोस् भन्नका लागि हामीलाई केही खास उद्योगपतिहरूले रोकिरहेका छन्। उनीहरू को हुन् भनेर तपाईँ सहजै अनुमान लगाउन सक्नुहुन्छ… यो भारतका जनताविरुद्धको अपराध हो!’
सो पोस्टमा भारतमा अझै पनि ठुलो सङ्ख्यामा गाउँहरू ब्रोडब्यान्ड इन्टरनेटसँग जोडिन नसकेकाले त्यहाँ स्टारलिङ्कको आवश्यकता रहेको उल्लेख गरिएको थियो।
मस्कले बुधबार अबेर राति एक्समा अगाडि लेखेका छन्, ‘भारतमा स्टारलिङ्कले ती मानिसहरूलाई तीव्र गति र किफायती इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्नेछ, जो विद्यमान महँगो मूल्यका कारण यसको प्रयोग गर्न असमर्थ छन् वा जसको पहुँचमा इन्टरनेट कनेक्सन नै छैन।’
यसअघि बुधबार नयाँ दिल्लीमा जारी ‘इन्डिया मोबाइल कङ्ग्रेस’ का क्रममा स्टारलिङ्ककी बिजनेस अपरेसन उपाध्यक्ष लरेन ड्रेयरले स्टारलिङ्कले भारतमा २० वटा गेटवे साइटहरू पहिले नै निर्माण गरिसकेको जानकारी दिइन्। उनले भारतीय प्रयोगकर्ताहरूको डाटा देशभित्रै सुरक्षित राख्नका लागि भारतको नियम-कानुन अनुसारका सुरक्षा नियन्त्रण प्रणालीहरू पनि विकसित गरिएको बताएकी छन्।
ड्रेयरले आवश्यक सम्पूर्ण कानुनी स्वीकृतिहरू प्राप्त हुनासाथ स्टारलिङ्कले भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू “यथाशीघ्र” सुरु गर्ने अपेक्षा राखेको बताएकी छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment