पाकिस्तानमा इमरान खानको पार्टीको लङ मार्च आज पेसावर पुग्ने, केही क्षेत्रमा इन्टरनेट र मोबाइल सेवा बन्द

डिसी नेपाल
२२ असोज २०८३ १०:४४
12
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलमुक्ति (रिहाइ) को माग गर्दै इस्लामाबादका लागि सुरु गरिएको लङ मार्च आज पेसावर पुग्दै छ। यसलाई दृष्टिगत गर्दै पेसावर सहरमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) को यस मार्चका कारण पेसावरका केही निजी शिक्षण संस्थाहरूले बिहीबारका लागि विद्यालय बन्द रहने घोषणा गरेका छन्। बुधबार साँझ नै अभिभावकहरूलाई सन्देश मार्फत बिदाको जानकारी गराइएको थियो।

बिहीबार पीटीआईको यो लङ मार्च पेसावर सहर हुँदै पेसावर र चारसद्दाको सीमासम्म पुग्नेछ।

बीबीसी उर्दूका अनुसार मार्चका कारण केही निजी विद्यालयहरूले विद्यार्थीहरूका लागि बिदा घोषणा गरे तापनि सरकारी विद्यालयहरू बन्द हुने विषयमा अहिलेसम्म कुनै आधिकारिक सूचना जारी गरिएको छैन।

अर्कातर्फ, पेसावरका केही क्षेत्रहरूमा मोबाइल फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको खबरहरू आएका छन्। यद्यपि, यसको न त आधिकारिक रूपमा पुष्टि गरिएको छ न त खण्डन नै गरिएको छ।

इमरान खानको पार्टी र पाकिस्तानको वर्तमान सत्ता नेतृत्वबिच गम्भीर मतभेद जारी रहेका बेला यो मार्च निकालिएको हो।

यो र्‍याली आइतबार उत्तर-पश्चिम प्रान्त खैबर पख्तुनख्वाबाट सुरु भएको थियो। उक्त प्रान्तमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफको सरकार रहेको छ।

राजधानी इस्लामाबाद पुग्नुअघि यो मार्च विभिन्न स्थानहरूमा रोकिँदै अगाडि बढ्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *