नेपाल-अस्ट्रेलिया आर्थिक साझेदारी :थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा
काठमाडौं। नेपाल र अस्ट्रेलियाले दुई देशबीचको द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्।
मेलबर्नमा बिहीबार सम्पन्न उच्चस्तरीय भेटवार्तामा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलता लगायतका बहुआयामिक क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।
भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अझ फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा दीर्घकालीन पुनर्निर्माणको प्रक्रियामा अस्ट्रेलिया नेपालको साथमा निरन्तर उभिने प्रतिबद्धता जनाइन्।
विदेशमन्त्री वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा समेत गरिन्। यसअघि अस्ट्रेलिया सरकारले आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्धता जनाएको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा यो नयाँ रकम थप हुनेछ। यो नयाँ सहयोग राशी मुख्यतया राहत वितरण तथा प्रारम्भिक पुनर्लाभका कार्यहरूमा केन्द्रित रहने जनाइएको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संकटको यस कठिन समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति हार्दिक आभार व्यक्त गरे। उनले संकटका समयमा प्राप्त यस प्रकारको सहयोगले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित र प्रगाढ बनाएको बताए।
भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपाल तथा प्रशान्त क्षेत्रका मुलुकहरूमा परेको साझा जोखिमका विषयमा पनि विस्तृत छलफल भएको थियो। मन्त्री खनालले विशेषगरी आगामी ‘कोप-३१’ सम्मेलनको सन्दर्भमा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियासँग आग्रह गरे।
त्यसैगरी जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा जलवायु-उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि दुई देशबीच फलदायी छलफल भएको छ।
यसै गरी, दुई देशबीच शैक्षिक सहकार्य विस्तार गर्ने विषयले समेत भेटवार्तामा प्राथमिकता पाएको छ। नेपालमा अस्ट्रेलियाबाट मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम संस्थाहरू स्थापना गर्ने तथा अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पसहरू नेपालमा सञ्चालन गर्नेबारे पहल अघि बढाउने विषयमा विचार आदानप्रदान भएको छ।
मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा त्यहाँको अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको चर्चा गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा योग्य र मेधावी नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गरिदिन आग्रह गरे।
साथै, नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको छ। दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुन सके यसले पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्धलाई अझ सहज र मजबुत बनाउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालसँगको साझेदारीलाई आगामी दिनहरूमा थप सुदृढ र प्रगाढ बनाउन अस्ट्रेलिया पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।
अन्तमा, दुवै पक्षले उच्चस्तरीय नियमित भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिँदै भेटवार्ताका क्रममा भएका समझदारीहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न एकापसमा निकट रहेर काम गर्ने सहमति गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment