विशेष महाधिवेशनले कांग्रेस फुटायो, अब ‘नयाँ घर’ बनाउनुको विकल्प छैन: विमलेन्द्र निधि

डिसी नेपाल
२२ असोज २०८३ १२:५४
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमै विभाजित भएको दाबी गर्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको स्पष्ट पारे। उनले विशेष महाधिवेशन बोलाउने पक्ष (विशेष गरी गगन थापा समूह) नै पार्टी विभाजनको मुख्य जिम्मेवार रहेको आरोप लगाए।

‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो। हामीले सुरुदेखि नै विधि र प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ तर त्यसलाई बेवास्ता गरियो,’ निधिले भने, ‘अब कानुनी र प्राविधिक औपचारिकता मात्र बाँकी छ, राजनीतिक र व्यावहारिक रूपमा पार्टी फुटिसकेको छ।’

उनले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नै नलिएको दाबी गरे।

सर्वोच्च अदालतमा देउवाका तर्फबाट परेको पुनरावलोकन निवेदनमा निस्सा पाइसकेकाले अन्तिम कानुनी फैसला आउन बाँकी रहेको र आगामी मंसिर २१ देखि तय गरिएको महाधिवेशन नै वैधानिक रहने उनले बताए।

निर्वाचन आयोगमा पेस गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशत महाधिवेशन प्रतिनिधिको बलियो आधार रहेको निधिले स्मरण गराए।

‘लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि हो, बहुमतको आडमा मात्रै पार्टी चल्दैन,’ निधिले भने, ‘गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न, तर अहिले हामीले निराश नभई आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ।’

पञ्चायत कालको संघर्षको उदाहरण दिँदै उनले कार्यकर्तालाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन र आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी युवा पुस्तालाई नेतृत्वमा ल्याउन निर्देशन दिए।

आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै उनले आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टीको नयाँ कार्यदिशा एवं पुनर्गठनका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *