कांग्रेस महाधिवेशन : मतदान प्रक्रिया अझै पछाडि धकेलिने

डिसी नेपाल
२२ असोज २०८३ १३:२३
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान स्थल वा बुथ निर्माण लगभग सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने भनिएपनि समय पछाडि धकेलिने संभावना देखिएको छ । उम्मेदवारहरुको आन्तरिक व्यवस्थापन र मत पत्र छपाइमा समस्या देखिएपछि मतदान पछाडि धकेलिने संभावना बढेको हो ।

चाँडो मतदान सुरु गर्नका लागि भन्दै निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे पदाधिकारीका उम्मेदवारहरूसँग छलफल सुरु गरेको छ ।

यसअघि बिहान ७ बजेदेखिको समय १० बजे सारिएकामाा वर्षा र प्राविधिक कारणले गर्दा दिउँसोदेखि मतदान शुरू हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका थिए ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।

सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले बिहान सभापति, उपसभापति र महामन्त्रीका सबै उम्मेदवारहरूसँग निर्वाचन कार्यालय राष्ट्रिय सभागृहमा छलफल गरिरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिए ।

समितिले बिहानैदेखि लाइनमा नबस्नसमेत आग्रह गरेको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् ।

खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *