मुस्ताङ गुम्बामा रसुवाका २९६ बाढीपीडित, ३३ दिनदेखि लायन्स क्लबले खुवाउँदैछ खाना

डिसी नेपाल
२२ असोज २०८३ २०:४३
4
Shares

काठमाडौं। स्वयम्भूस्थित मुस्ताङ गुम्बामा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेका २९६ जना बाढीपीडित आश्रय लिइरहेका छन्। उनीहरूलाई दैनिक खाना खुवाउने जिम्मेवारी लायन्स क्लब ३२५ ईले लिएको छ।

लायन्स क्लब ३२५ ईका डिजास्टर म्यानेजमेन्ट चिफ विनोदकुमार श्रेष्ठका अनुसार क्लबले गुम्बामा आश्रय लिइरहेका पीडितलाई खाना खुवाउन थालेको ३३ दिन भएको छ। खाना पकाउने काममा १० देखि १२ जनाले रोजगारीसमेत पाएका छन्।

उनीहरूले बिहानदेखि बेलुकासम्म भान्छामा काम गर्ने र दैनिक २५ हजार रुपैयाँ पारिश्रमिकमा खर्च हुने श्रेष्ठले बताए। गुम्बामा दिनमा चारपटक खाना तयार हुने गरेको छ। बिहान ७ देखि ९ बजेसम्म खाजा, दिउँसो ३ देखि ४ बजेसम्म हाइटी तथा साँझ ६ बजेपछि डिनरको व्यवस्था गरिएको छ।

पीडितहरूको खानाका लागि दैनिक करिब १ लाख रुपैयाँ खर्च हुने गरेको श्रेष्ठले बताए। त्यसैगरी, दैनिक २० देखि २५ जना स्वयंसेवकले गुम्बामा पुगेर व्यवस्थापनमा सहयोग गर्दै आएका छन्।

श्रेष्ठका अनुसार गुम्बामा आश्रय लिइरहेका बाढीपीडितहरू आफ्नो गाउँ टिमुरे फर्किन चाहन्छन्। तर, पुनर्स्थापना नभएसम्म उनीहरूलाई करिब ६ महिनासम्म खाना खुवाउने व्यवस्था मिलाइएको उनले बताए।

उनले व्यक्तिगत सहयोग तथा लायन्स क्लबका अन्य डिस्ट्रिक्टका सदस्यहरूबाट समेत सहयोग प्राप्त भइरहेको समेत जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *