पर्यटक लोभ्याउँदै दाङको पुरन्धरा  झरना

डिसी नेपाल
२३ असोज २०७६ १४:५७

दाङ । पश्चिम दाङको बबई गाउँपालिका– ५ मा पर्ने पुरन्धरा झरना हेर्न जानेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।  तीनतिरबाट जङ्गलले घेरेको पश्चिमतर्फ भने बबई नदी छ । नदीको करिब १० मिटर टाढा पूर्वतर्फ मनोरम पुरन्धरा झरना छ । करीब ४५ मिटर उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्य देख्दा त्यहाँ पुग्ने जो कोही आकर्षित हुन्छन् । झरनाबाट खसेको पानी पोखरीजस्तै संरचनामा जम्मा हुन्छ । पोखरीको पानी त्यहीँबाट विस्तारै बबई नदीमा गई मिसिने गर्दछ।

झरनाको अवलोकन गर्न पुग्ने जो कोही पनि त्यहीँ पानी खस्ने ठाउँमा तस्बिर खिच्न व्यस्त देखिन्छन् भने गर्मीको समयमा सोही पोखरीमा पौडी खेल्ने गर्दछन् । यति बेला दशैँको समयमा घर फर्केका दाङका विभिन्न गाउँ टोल तथा अन्य छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि त्यहाँ पुग्ने गरेको  झरनाका कर्मचारी कुलबहादुर बुढाले बताए।

बुढाका अनुसार दशैँ अघि दैनिक दुई तीन सय आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान आउने गरेकोमा दशैँको समयमा  दैनिक छ देखि ७०० आन्तरिक पर्यटन झरनाको अवलोकनका लागि पुगेका छन् । उहाँका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरेपनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलको रु ३०, कार तथा जीपको रु २०० र बसको शुल्क २५० निर्धारण गरिएको छ ।

विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण, पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकले बताइन्।

झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब र बाँकी रकम झरनाको विकासमा खर्च गरिने उनले जानकारी दिइन्।

झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलो पटक पुगेकी २५ वर्षीया समीक्षा भट्टराईले यहाँ आउँदा निकै आनन्द लागेको बताइन् । आफू अध्ययनको सिलसिलामा लामो समयदेखि काठमाडौँ रहेको र अहिले दशैँको समयमा घरमा आउँदा समय मिलाएर यहाँ आएको बताइन्।

उनले आफूले यति राम्रो झरना होला भनेर नसोचेको भन्दै यसलाई अझै व्यवस्थितरूरूपमा संरक्षण गर्न र वरपरको वातावरण सफा, स्वच्छ राख्न सुझाव दिइन् ।

त्यसैगरी झरनाको अवलोकनका लागि पुगेका तुलसीपुर उपमहानगरपालिका रजौरामा ४५ वर्षीय ज्ञानसी चौधरीले  झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूवार्धार निर्माण गर्नसके पश्चिम दाङको मुहार नै फेरिने बताए।

पहिले  पञ्चकुलेबाट छ घण्टा पैदल हिँडेर आएको बताउनुहुने चौधरीले अहिले त गाडी चढेर यहाँ आउन पाउँदा निकै खुशी लागेको बताए । ‘अहिले यहाँ विकास निर्माणका काम पनि भइराखेका रहेछन्, त्यसमा पनि बाटो बनेछ’, चौधरीले भने । चौधरी आफ्ना छोराछोरीलाई लिएर झरनाको अवलोकनमा पुगेका थिए । अझै त्यहाँ चमेना गृह, पर्यटकका लागि आवश्यक पर्ने शौचालय, पिउनेपानी तथा फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले सुझाव दिए।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले झरनाको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाइसकेको बताए। उनले चालू आर्थिक वर्षमा गाउँपालिकाले पुरन्धरा झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने गरी गुरुयोजना बनाई कार्यान्वयनका लागि त्यहाँ भौतिक पूर्वाधार निर्माण भइरहेको बताए।

उनले प्रदेश नं ५ सरकारले झरनाको विकास गर्न रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए। त्यस्तै गाउँपालिकाले पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । झरना क्षेत्रसम्म पुग्ने बाटोमा कल्भर्ट तथा ग्राभेलको काम सम्पन्न भएको छ । झरना क्षेत्रमा सजिलैसँग जान आउन सिँढी, प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गरिएको र अब छिट्टै झरनास्थलमा खानेपानी, शौचालय, चमेनागृह, बिजुलीलगायतका भौतिक पूर्वाधार निर्माण गरिने पनि उनले जानकारी दिए।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट करिब आठ किमि दक्षिण पचिश्ममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महीना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्ने छन् । झरना एकान्त ठाउँमा छ । त्यहाँ वरपर कुनै बस्ती छैन । झरना क्षेत्रमा पहिले त्यहाँ घनघोर जङ्गल रहेको र त्यही जङ्गलको बीचमा सानो बाटो बनाएर मानिस गाईवस्तु लिएर जङ्गलमा जाने, घाँस दाउरा तथा खर काट्ने र त्यही गोठ बनाएर बस्ने गर्दथे । सोही गोठमा बस्ने क्रममा आवतजावत गर्दा मानिसले त्यहाँ झरना रहेको पत्ता लगाएका थिए । झरना करिब १०० मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ । सो मन्दिरमा त्यहाँ शिवरात्रिमा ठूलो मेला पनि लाग्दछ।

पछिल्लो समयमा झरना सम्म पुग्ने ग्राभेल मोटर बाटो निर्माण हुनुका साथै ठाउँठाउँमा  त्यहाँ कल्र्भट निर्माण, झरना पुग्नका लागि  सिँढी,  प्रतिक्षालयलगायतका पूर्वाधार निर्माणका कमले जिल्लामा आउने पर्यटकको  रोजाइ झरना पर्न थालेको छ । ग्राभेल बाटोलगायतका पूर्वाधार निर्माणले जुनसुकै महीनामा पनि पुग्न सो क्षेत्रमा पुग्न सकिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *