बाढीपहिरोका कारण क्षति भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालि दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयले आज जारी गरेको सूचना अनुसार भदौमा हिमपहिरोका कारण आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।
बाढी र पहिरोका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँ नागरिकको ज्यान गएकाले शोक र विषम परिस्थितिमा दसैँ सादगी ढङ्गले मनाउन लागिएको सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा धार्मिक आस्था, परम्परागत मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगी रूपमा मात्र मनाइने उल्लेख छ। यसैकारण विजयादशमीका दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने औपचारिक कार्यक्रम यस वर्ष नराखिएको जानकारी गराइएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment