कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र अमरसिंह पुनको अग्रता, महिलातर्फ डिला सङ्ग्रौला अगाडि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा महामन्त्री (खुला) तर्फ प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता कायम राखेका छन्। आइतबार बिहान ७ः३० बजेसम्मको अद्यावधिक मतपरिणामअनुसार खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा पौडेल पहिलो र पुन दोस्रो स्थानमा रहेका छन्।
निर्वाचन समितिका अनुसार १ हजार २२९ मत गणना हुँदा प्रदीप पौडेलले ७८८ मत प्राप्त गरेका छन्। त्यस्तै, अमरसिंह पुन मगरले ४७८ मत ल्याएका छन्। खुला महामन्त्री पदमा उनीहरूलाई उदयशमशेर राणाले पछ्याइरहेका छन्। राणाले ४५६ मत प्राप्त गरेका छन्।
यसैगरी, डा. सुनिलकुमार शर्माले ३२५ मत प्राप्त गर्दा गुरुराज घिमिरेले १९७ र नैनसिंह महरले १४८ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये शङ्कर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीतर्फ पनि प्रतिस्पर्धा जारी छ। एक पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. डिला सङ्ग्रौला (पन्त) ले अग्रता बनाएकी छन्। उनले ५८३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी हालक्ष्मी उपाध्याय (डिना) ले ५५७ मत ल्याएकी छन्। त्यस्तै, महिला महामन्त्रीकी अर्की उम्मेदवार रीता खनालले १५३ मत प्राप्त गरेकी छन्।
खुला महामन्त्रीतर्फ दुई पद र महिला महामन्त्रीतर्फ एक पदका लागि मतगणना भइरहेको छ। मतगणनाको परिणामसँगै उम्मेदवारहरूको मतान्तरमा पनि परिवर्तन आउन सक्ने भएकाले अन्तिम नतिजाका लागि थप मतगणना कुर्नुपर्नेछ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कडा सुरक्षा व्यवस्थाबीच महामन्त्री र उपसभापति पदको मतगणना निरन्तर भइरहेको छ। निर्वाचन समितिले मतगणना जारी राखेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।
कांग्रेस महामन्त्री पदका उम्मेदवारले पाएको मत
| क्र.सं. | उम्मेदवारको नाम | समूह | प्राप्त मत |
|---|---|---|---|
| १ | प्रदीप पौडेल | खुला | ७८८ |
| २ | अमरसिंह पुन मगर | खुला | ४७८ |
| ३ | उदयशमशेर राणा | खुला | ४५६ |
| ४ | डा. सुनिलकुमार शर्मा | खुला | ३२५ |
| ५ | गुरुराज घिमिरे | खुला | १९७ |
| ६ | नैनसिंह महर | खुला | १४८ |
| ७ | शंकर तिवारी | खुला | २० |
| ८ | डा. सन्तोष उपाध्याय | खुला | १८ |
| ९ | डा. डिला संग्रौला (पन्त) | महिला | ५८३ |
| १० | महालक्ष्मी उपाध्याय (डिना) | महिला | ५५७ |
| ११ | रीता खनाल | महिला | १५३ |
No ads found for this position



डिसी नेपाल
Facebook Comment