कांग्रेस राजनीतिमा विनोद चौधरीको अर्को फड्को: पुराना नेताहरूलाई पछाडि पार्दै उपसभापतिमा निर्वाचित

डिसी नेपाल
२६ असोज २०८३ १०:५५
16
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट समावेशी उपसभापति पदमा प्रसिद्ध उद्योगपति तथा सांसद विनोद चौधरी निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम परिणामअनुसार आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतान्तरले पराजित गर्दै चौधरी उपसभापतिमा चयन भएका हुन्।

निर्वाचन समितिका अनुसार विजयी चौधरीले १,७४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी जीवन परियारले १,६५८ मत ल्याए। यसैगरी सोही पदका अन्य प्रतिस्पर्धीहरू फरमुल्लाह मन्सुरले १,१४४ मत, सीता गुरुङले १,११२ मत र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

फोर्ब्सको सूचीमा परेका नेपालका एकमात्र अर्बपति उद्योगी विनोद चौधरीको यो जितलाई नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा एक ठूलो राजनीतिक छलाङका रूपमा हेरिएको छ।

विक्रम संवत् २०६४ को संविधानसभामा नेकपा (एमाले)बाट समानुपातिक सभासद बनेका चौधरी २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। त्यसपछि २०७८ सालमा सम्पन्न १४औं महाधिवेशनबाट थारु क्लस्टरमार्फत केन्द्रीय सदस्य निर्वाचित भएका उनी २०७९ को आमनिर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य बनेका थिए।

कांग्रेस प्रवेश गरेको करिब ९ वर्षको छोटो अवधिमै, पार्टी राजनीतिमा दशकौं बिताएका पुराना नेताहरूलाई पछाडि पार्दै उनी पार्टीको केन्द्रीय उपसभापतिजस्तो दोस्रो मर्यादाक्रमको शक्तिशाली पदमा पुग्न सफल भएका छन्।

पार्टी नेतृत्वमा विजयी भएपछि प्रतिक्रिया दिँदै चौधरीले राजनीतिमा आफू व्यक्तिगत लाभका लागि नभई मुलुकको आर्थिक नीति सुधार र विकासको नयाँ मोडल प्रस्तुत गर्न आएको बताएका छन्।

यस महाधिवेशनमा खुला उपसभापतितर्फ डा. चन्द्र भण्डारी र मधु आचार्य विजयी भइसकेका छन् भने समावेशी कोटाबाट चौधरीले उपसभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन्। चौधरीको यो आगमनले नेपाली कांग्रेसको आगामी आर्थिक नीति तथा राष्ट्रिय एजेन्डा निर्माणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *