नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय ‘साइबर सुरक्षामार्फत कृत्रिम बौद्धिकता’ पुरस्कार
ललितपुर। नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘साइबर सुरक्षामा कृत्रिम बौद्धिकता (AI in Cybersecurity) पुरस्कार’ बाट सम्मानित भएको छ।
इन्डोनेसियाको जकार्तामा आयोजित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ समारोहमा सूचना प्रविधि तथा साइबर सुरक्षाका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै कम्पनीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
इन्साइट टेक्नोलोजीलाई विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, निगरानी, द्रुत प्रतिक्रिया र सुदृढीकरणका लागि कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग गरेबापत यो सम्मान दिइएको हो।
गत अक्टोबर ७ मा जकार्तास्थित स्विषोटेल जकार्ता पीआइकैयाभेन्युमा आयोजित ‘अवार्डी शोकेस’ कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन के. शर्माले एसोसियो बोर्ड, विभिन्न देशका विजेताहरू तथा एसिया-ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष कम्पनीको यात्रा, उपलब्धि र भावी कूटनीतिक तथा प्राविधिक दृष्टिकोण प्रस्तुत गरेका थिए।
पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै सीईओ शर्माले भन्नुभयो, “यो सम्मान हाम्रा इन्जिनियरहरू, विश्लेषकहरू र नेपाली कम्पनीका अति संवेदनशील प्रणालीहरूमा हामीलाई विश्वास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरूको हो।
प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउने हाम्रो उद्देश्य हो। क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा प्रणालीमा दिन सक्ने योगदान प्रदर्शन गर्न पाउँदा हामी गौरवान्वित छौँ। “
सन् २०११ मा सूचना प्रविधि समाधान इन्टिग्रेटरका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ। हाल कम्पनी सयौँ संस्थाहरूलाई म्यानेज्ड टेक्नोलोजी र साइबर सुरक्षा सेवा प्रदान गर्ने प्रमुख कम्पनीका रूपमा स्थापित भइसकेको छ।
पुरस्कार प्रदायक संस्था एसोसियो एसिया र ओशिनिया क्षेत्रका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको क्षेत्रीय सूचना तथा सञ्चार प्रविधि) उद्योग संस्था हो। सन् १९८४ मा स्थापित यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment