इजरायलसँगको युद्धमा घर गुमाएका लेबनानी नागरिकलाई हिजबुल्लाहले १४ हजार डलरसम्म क्षतिपूर्ति दिने

डिसी नेपाल
२८ असोज २०८३ १३:१५
24
Shares

काठमाडौं । इजरायलसँगको हालैको युद्धका क्रममा लेबनानमा घर पूर्ण रूपमा ध्वस्त भएका वा बस्न अयोग्य भएका प्रभावित परिवारहरूलाई उग्रवादी तथा राजनीतिक सङ्गठन हिजबुल्लाहले ठुलो आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेको छ।

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख अली दामोसले एक पत्रकार सम्मेलनमार्फत प्रभावित परिवारहरूलाई १४,००० अमेरिकी डलर (करिब १८ लाख ६० हजार नेपाली रूपैयाँ) सम्मको सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनका क्रममा अली दामोसले लेबनान सरकारको तीव्र आलोचना गर्दै सरकार युद्धबाट विस्थापित भएका आफ्ना नागरिकहरूलाई सहयोग र पुनर्वास गराउन पूर्ण रूपमा असफल भएको आरोप लगाए।

हिजबुल्लाहले प्रभावित क्षेत्र र आवश्यकताअनुसार आर्थिक सहयोगको दायरा तोकेको छ । बेरुत सहर र त्यसका दक्षिणी उपनगरहरूमा घर गुमाएका परिवारहरूलाई १४,००० अमेरिकी डलर प्रदान गरिनेछ। लेबनानका अन्य बाँकी भागहरूमा घर भत्किएका प्रभावित परिवारहरूलाई १२,००० अमेरिकी डलर दिइनेछ।

उपलब्ध गराइने कुल रकममध्ये ८,००० अमेरिकी डलर नयाँ फर्निचर र घरायसी सामान खरिदका लागि छुट्याइएको छ भने बाँकी रकम नयाँ घर भाडामा लिनका लागि दिइनेछ।

लाभार्थीहरूले क्षतिपूर्ति प्राप्त गर्नका लागि हिजबुल्लाहद्वारा स्थापना गरिएका विशेष समीक्षा केन्द्रहरूमा गएर निवेदन दिनुपर्नेछ। यद्यपि, यस योजनाबाट कुल कति परिवार लाभान्वित हुनेछन् र कुल कति रकम खर्च हुनेछ भन्नेबारे हिजबुल्लाहले स्पष्ट पारेको छैन। यो रकम इरानबाट प्राप्त भएको अनुमान गरिएको छ।

‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार युद्ध उत्कर्षमा छँदा लेबनानमा करिब १२ लाख मानिसहरू विस्थापित भएका थिए। युद्धविरामपछि धेरैजसो मानिसहरू फर्किए तापनि अझै पनि ३ लाखभन्दा बढी मानिसहरू घरविहीन र विस्थापित अवस्थामा छन्।

यसैबिच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले हिजबुल्लाहले बाँड्ने भनेको यो रकम काल्पनिक भएको र इरानबाट आउने सम्भावित आर्थिक स्रोतहरूलाई अमेरिकी प्रतिबन्धका कारण रोकिने दाबी गरेका थिए।

अमेरिकी दाबीको खण्डन गर्दै हिजबुल्लाह नेता अली दामोसले भने, “हामी अमेरिकी प्रशासनका भनाइहरूबाट कत्ति पनि विचलित भएका छैनौँ। हामी हाम्रा जनताको सेवा गर्न प्रतिबद्ध छौँ र उनीहरूलाई सामान्य जीवनमा फर्काउन हरेक सम्भव प्रयास गर्नेछौँ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *