भोटेकोशी बाढी पीडितलाई प्रतिपरिवार ४५ हजार राहत वितरण सुरु
काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिसकेको छ।
विकास साझेदार संस्था ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी) ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो।
स्थानीय तहसँगको समन्वय र सहकार्यमा सम्बन्धित स्थानीय तहले नै पहिचान गरेका वास्तविक बाढी प्रभावितहरूलाई उक्त रकम उपलब्ध गराउने काम भइरहेको छ। जसअन्तर्गत रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारले राहत रकम प्राप्त गरिसकेका छन्।
बाढी प्रभावितमध्ये तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका करिब १४ सय घरधुरीलाई पनि आगामी तीन दिनभित्रै रकम वितरण गरिसक्ने गरी सरकारले आवश्यक तयारी अघि बढाएको छ।
यसअघि गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टहरूको संयुक्त बैठकले विपद् प्रभावित घरधुरी (लाभग्राही) पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभ प्रक्रियालाई व्यवस्थित बनाउने निर्णय गरेको थियो।
रेडक्रस लगायत अन्य विकास साझेदार निकायहरूले समेत नगद सहयोग उपलब्ध गराउन इच्छा व्यक्त गरेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरो नपर्ने र कोही पनि नछुट्ने गरी सहायता उपलब्ध गराउन सरकारले स्थानीय तह तथा सम्बद्ध निकायहरूलाई आवश्यक निर्देशन दिइसकेको छ।
यसैबीच, बाढीबाट प्रभावित भएका नागरिकहरूको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि तीव्र रूपमा काम भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment