हेटौंडा-सिस्नेरी-फर्पिङ सडक खण्डमा ‘टाइम कार्ड’ लागू : कुन ठाउँ पुग्न कति समय लाग्छ?

डिसी नेपाल
२९ असोज २०८३ १३:३०
8
Shares

मकवानपुर।  सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुर क्षेत्रमा ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जोड्ने सडकखण्डमा चल्ने सवारीसाधनका लागि यो व्यवस्था सुरु गरेको हो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन र तीव्र गतिका कारण हुने सम्भावित दुर्घटना रोक्न टाइम कार्ड लागू गरिएको हो।

दशैंको शुभकामना दिँदै एसपी खत्रीले सार्वजनिक सवारीका चालकहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेका छन्। उनले यात्रुको जीवन सुरक्षालाई प्राथमिकतामा राखेर समयमै पुग्ने होडबाजीमा लापरबाही नगर्न चालकहरूलाई विशेष सन्देश दिएका छन्।

टाइम कार्डअनुसार कुन खण्डमा कति समय?

प्रहरीले निर्धारण गरेको नयाँ टाइम कार्ड अनुसार विभिन्न सडकखण्ड पार गर्न देहाय बमोजिमको समय तय गरिएको छ:

  • हेटौँडा देखि भैँसेसम्म: २५ मिनेट

  • भैँसे देखि भीमफेदीसम्म: ३० मिनेट

  • भीमफेदी देखि कुलेखानीसम्म: ४० मिनेट

  • कुलेखानी देखि फर्पिङसम्म: ४५ मिनेट

तय गरिएको समय सीमा अनुसार सवारीसाधन सञ्चालन गर्दा तीव्र गतिमा गाडी हुक्याउने प्रवृत्ति घट्ने र दुर्घटनाको जोखिम कम हुने प्रहरीको विश्वास छ।

टाइम कार्ड शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा स्थानीय प्रहरी चौकीका इन्चार्जहरूको उपस्थिति रहेको थियो।

चाडपर्वको समयमा सडकमा यात्रुको चाप उच्च हुने भएकाले चालकहरूलाई संयमित भएर सवारी चलाउन र यात्रुको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *