धार्मिक तथा सांस्कृतिक मान्यता र सहिष्णुताको महत्त्व

कपिल लोहनी
१ कार्तिक २०८३ ७:५७
40
Shares

हामी सानै छँदा मेरा पिताजीका एकजना साहित्य, दर्शन र वामपन्थका विद्वान् चेला एकपटक पशुपतिनाथको मन्दिरमा गएका थिए। उनी खाँटी वामपन्थी लेखक भएकाले भगवानको दर्शन गर्न नै त्यहाँ पुगेका हुन् वा होइनन् भन्ने कुरामा मलाई शंकै छ।

मेरा पिताजी पनि युवावस्थामा वामपन्थी विचारक हुनुभएको तथा पुष्पलालसँगको उहाँको सहकार्यकै कारण नेपालमा कम्युनिस्ट पार्टी जन्मिएको र निकै पछिसम्म पनि उहाँले लेखका कम्युनिस्ट विचारधाराका आधा दर्जन पुस्तकहरू कम्युनिस्ट पार्टीका नयाँ सदस्यहरूलाई शिक्षा दिने पाठ्यक्रममा नै रहेको कुरा मैले केही वर्षपहिले वरिष्ठ वामपन्थी नेता तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठबाट सुनेको थिएँ। उनी पनि तिनै पुस्तक पढेर वामपन्थमा दीक्षित भएका रहेछन्।

पशुपतिनाथको मन्दिरको मूल ढोकामा-त्यो पनि कडा पञ्चायती कालमा-पुगेका ती विद्वान्‌ले मन्दिर परिसरभित्र छालाको जुत्ता लगाएर पस्न खोज्दा त्यहाँ तैनाथ प्रहरी जवानले उनलाई रोकेछन्।

यो कुराले निकै क्रोधित बनेका उनले त्यो प्रहरीसँग घण्टौँ बहस गरेर बसेछन् र सरकार तथा तत्कालीन व्यवस्थालाई समेत गाली गर्न थालेपछि उनलाई थप प्रहरीहरू आएर गिरफ्तार गरेछन् र दिनभरि प्रहरी थानामा राखेर छोडेछन्। पछि उनले हाम्रो घरमा आएर यो विषयमा मेरा पिताजीसँग कुरा गरेको मैले सुन्न पाएको थिएँ। त्यतिबेला मेरा पिताजीले उनलाई भनेका कुरा यस्ता थिए:

‘तपाईंले एउटा जिम्मेवार वामपन्थी लेखक भएर पशुपतिनाथको मन्दिरको सुरक्षामा खटिएको एकजना प्रहरी जवानसँग घण्टौं गलफत्ती गरेर बस्न सुहाउँछ? तपाईंले जति नै कराए पनि त्यो सामान्य प्रहरीले आफ्नो जिम्मेवारीलाई पन्छाएर तपाईंलाई जुत्ता लगाएर भित्र पस्न दिन्थ्यो भनेर कसरी सोच्नुभएको?

त्यहाँ कति भक्तजनहरू आएका थिए होला र तपाईंलाई चिन्ने पनि कति थिए होलान्? तिनले के सोचे होला? विश्वमा कतिपय यस्ता स्थान हुन्छन् जहाँ अन्य धर्म र संस्कृतिका मानिसहरू वा विदेशीलाई पस्न मनाही गरिएको हुन्छ। नेपाल वा भारतमा पनि पशुपतिनाथजस्तै केही मन्दिरहरूमा यस्ता नियम लगाइएको छ भने त्यसलाई पालना गर्नु हाम्रो दायित्व होइन र?’

पिताजीले कुरा थप्दै भन्नुभयो, ‘म पनि कुनै धर्मकर्ममा आस्था राख्दिनँ, ब्रह्माण्डमा पृथ्वी एक अति सानो माइक्रोस्कोपिक परमाणुभन्दा पनि सानो छ र हामी यहाँभित्र अटाएकाहरू अनेक तर्क गर्छौं।

कुनै शक्ति अवश्य होला जसले यो सम्पूर्ण ब्रह्माण्डको सिर्जना गर्‍यो र यस ब्रह्माण्डको हरेक तत्त्वलाई एक सन्तुलनमा राखेको छ। यो पृथ्वीका मानवरूपी जीवित तत्त्वले हाम्रो नजरमा अन्य जीवित तत्त्वभन्दा निकै प्रगति गरेर आधिपत्य जमायो र विभिन्न वाद, धर्म, दर्शन र संस्कृतिको विकास गरेको छ।

तर आफ्नो आस्था छैन भन्दैमा किन अरूको आस्थामा ठेस पुर्‍याउन जाने? मेरै घरमा मेरी पत्नी र सन्तान भगवानप्रति निकै आस्था राख्छन् भने मैले चुप लागेर उनीहरूको यो स्वतन्त्रतालाई कायम राख्न मद्दत गर्नु पर्दैन र? तपाईं जस्ता बुद्धिमान्ले यो काम गर्नु हुँदैन।’

आखिर मेरा पिताजी ९३ वर्षको उमेरमा प्राण त्याग गर्ने बेलामा उहाँलाई भेट्न अस्पतालको सघन उपचार कक्षमा गएका उहाँका अर्का चेला प्रदीप गिरिले ‘गुरु, यो अन्तिम अवस्थामा पुग्दा ईश्वर छ जस्तो लाग्छ या लाग्दैन, र मर्न डर लाग्दो रहेछ कि लाग्दैनरहेछ?’ भनेर सोध्दा अक्सिजन मास्कबाट श्वास फेर्दै मुसुक्क हाँसेर कुनै भयबिना ‘लाग्दैन’ भन्ने संकेत गर्नुभयो र अक्सिजन मास्क फुत्त खोलेर हाँस्दै ‘बल्ल मृत्यु र त्यसपछिको अनुभव कस्तो हुँदो रहेछ भनेर जान्ने बेला आएको छ’ भन्नुभयो।

कति भयसहित र बलियो मान्छे! केही दिनपछि देहत्याग पनि गर्नुभयो। आखिर उहाँका चेला तथा नास्तिक दर्शनमा नै विश्वास गर्ने महान् चिन्तक प्रदीप गिरिको पनि त्यसको एक वर्षपछि देहावसान भयो तर उहाँले पनि अन्तिम अवस्थासम्म समेत मृत्युदेखि डराउने वा ईश्वरको नाम जप्ने काम गर्नुभएन। तर यी दुवै महान् आत्माले बाँचुञ्जेलसम्म कहिल्यै अरूको मूल्य र मान्यतासँग खेलबाड भने गरेनन्।

पशुपतिनाथको मन्दिरमा पस्न नपाएको झोँकमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धिकी पत्नी सोनियाको नेपाली राजदरबारसँगको द्वन्द्व होस् वा अन्य धर्मावलम्बी हुन् वा हिन्दू धर्मावलम्बी भएरै पनि त्यहाँ बनाइएका नियम तोडेर भित्र घुस्ने मनसाय बोकेका बामदेव वा अन्य नेता हुन्, ती सबै क्षणिक प्रचारबाजीका भोका मान्छे मात्र हुन्।

केही दिन अघि एक हिन्दू युवतीले आफ्ना मुसलमान पतिलाई पशुपतिनाथको मन्दिरभित्र पस्न नदिएको झोँकमा सामाजिक सञ्जालमा पोस्ट्याउन भ्याएकी थिइन्, जबकी सो मुसलमान युवकसँग उनले बिहे गर्न पनि इस्लाम धर्मको कानुनमुताबिक सोही धर्म अ अङ्गालेकी होलीन्।

अरू धर्ममा भएका असहज कुराको ख्यालै नगरिकन युवाजोशमा आफ्नो पुर्खौली धर्मको खिल्ली उडाउन पछि हट्दैनन् मानिसहरू। फेरि यस्ता कुरामा कुनै निहित स्वार्थ बोकेका तत्त्वको पनि खेल हुन सक्छ। राज्यमा दण्डहीनता हाबी भएपछि यस्ता कुरा सामान्य नै हुन जान्छन्।

चिनियाँ सांस्कृतिक क्रान्तिको दौरान त्यहाँको कट्टर माओवादी कम्युनिस्ट सरकारले अफगानिस्तानका तालिवानले बामियानका बौद्ध मूर्ति र स्मारक ध्वस्त पारेजस्तै र सभ्य भनिएका ब्रिटिसले मुगल साम्राज्यका किल्ला (लाल किल्ला) र धार्मिक केन्द्रहरू ध्वस्त पारेजस्तै पाशविक कार्य गरेर जघन्य अपराध गरे पनि त्यहाँको धार्मिक र सांस्कृतिक मूल्य र मान्यतालाई सदाको निम्ति मेट्न सकेनन्। रुसमा पनि त्यस्तै भयो।

आधुनिक सिङ्गापुरका निर्माता ली क्वान युले उनको मुलुकको धार्मिक र सांस्कृतिक मूल्य तथा मान्यतामा पश्चिमा तथा मुलुकभित्रकै कुतत्वहरूले धावा बोल्न थालेकोमा आफ्नो विचार राखेको कुरा पनि सम्झनामा आयो।

उनले ठूलो जनसमुदायलाई सम्बोधन गर्दै भनेका थिए कि चीन र भारतको आदिकालदेखि चल्दै आएको श्रेष्ठ धार्मिक तथा सांस्कृतिक मूल्य र मान्यतालाई खल्बल्याउन धेरै तत्त्वले कोसिस गरिरहेका छन् तर तिनीहरूले केही सीमित वर्गका मानिसलाई बहकाउन सफल भए पनि त्यो कार्यले दिगो रूप लिन सक्दैन। केही समयपछि नै त्यस्ता बहकिएका मानिसहरूमध्ये अधिकांश आफ्नो पुरानै मान्यतालाई अङ्गाल्न फर्किने छन्।

फिजी, टिमोर तथा अन्य साना ठाउँका आदिम सभ्यतालाई खल्बल्याएर क्रिश्चियन धर्म फैलाउन पश्चिमाहरू सफल भए पनि चिनियाँ र भारतीय सभ्यतालाई बिथोल्न सम्भव नभएको कुरा पनि उनले बताएका थिए। उनले के पनि भनेका थिए भने युरोप स्वयम्‌मा क्रिश्चियन वा कुनै पनि धर्म नमान्ने र नास्तिक दर्शनमा विश्वास गर्नेहरूको जमात बढ्दो छ, तर पनि ती व्यक्तिहरूले अरूको आस्थाको प्रतीक धर्म र संस्कृतिमाथि प्रहार गर्ने गरेका छैनन्।

आज नेपाल एक धर्मनिरपेक्ष तथा प्रजातान्त्रिक मुलुक बन्न पुगेको छ। तर यसको मतलब विभिन्न प्रलोभनमा धर्मको सौदाबाजी गर्ने र एक जातिले अर्को जातिलाई होच्याउने र गालीबेइज्जती गर्ने होइन। यो मान्यताको ठूलै विपरीत आज नेपालमा धर्म परिवर्तन गर्न अस्वस्थकर प्रचार गर्ने, प्रलोभन देखाउने तथा एकापसमा घृणा फैलाउने ज्यादै नराम्रो कार्य हुन थालेको छ।

आङकाजीजस्ता रास्पुटिनहरूले आफ्नो फुजुलको प्रचारबाजीको निम्ति अन्य जातजाति र धर्मावलम्बीहरूको खिल्ली उडाउने काम खुलेआम गरिरहेका छन्।

दक्षिण एसियामा सबै जाति र धर्मावलम्बी तथा महिलाले समेत सबैभन्दा बढी समान अधिकार पाएको मुलुक नेपाल मात्रै हो तर पनि यहाँ सबै जातजाति तथा वर्गका केही अराजक व्यक्तिहरूका कारण निर्मित अस्थायी असन्तोष र पाखण्डको भुमरी अन्य मुलुकको भन्दा निकै जटिल प्रकारको बनेको छ र यसलाई सबै मिलेर चिर्नु जरुरी छ।

हो, धार्मिक संस्था, धर्मगुरु तथा समाजका सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिहरू बसेर स्वस्थ बहसको माध्यमबाट आजको समाजमा नमिल्दा धार्मिक रितिरिवाजहरूमा मिलेसम्मका समसामयिक परिमार्जन गर्न पनि सकिएला।

हिन्दू तथा अन्य विभिन्न धर्ममा रहेको पशुबली प्रथालाई पनि हटाएर फलफूल र तरकारी वा अन्य कुराको बली दिएर धार्मिक रीत पुर्‍याउने कामलाई प्रोत्साहन दिनु जरुरी छ।

नेपालमा भएको धार्मिक सहिष्णुतालाई खल्बल्याउँदै निकै मेलमिलापका साथ बसेका हिन्दू, बौद्ध र मुसलमानहरूलाई विभाजन गर्ने र झैझगडामा मुछ्ने स्वदेशी तथा विदेशी कुतत्वहरू पनि सक्रिय भइरहेका छन्।

विदेशीको पैसाले मात्तिएका स्वदेशी दलालहरू समाजलाई गलत दिशामा लग्ने उद्योगमा लागिरहेका छन्। विभिन्न धर्मबीचको झगडाको मात्र कुरा होइन, एउटै धर्मभित्र पनि विभिन्न प्रकारका कुप्रथाहरू छन्।

केही वर्ष अगाडि जनकपुरको रामजानकी मन्दिरमा एक जना अति उच्च पदस्थ विधवा महिलाले दर्शन गरेपछि मन्दिर अपवित्र भयो भनेर पानीको फोहराले सफा गरेको समाचार पढ्दा मनमा निकै दुःख लागेको थियो।

केही दशक अघिसम्म निकै पिल्सिएर रहेका दलित समुदायका मानिसहरू आज त्यो अवस्थाबाट निकै माथि उठेका छन् भने नेपालमा कुनै जाति वा धर्ममा विश्वास गर्ने मानिस ठूला वा साना छैनन् अब।

संविधान र कानुनले सबैलाई बराबरीको मान्यता दिएको छ। तर पनि कतिपय कुसंस्कार पाएका मानिसहरू जातिपातीको भेदभाव गर्नुका साथै अरूको धार्मिक आस्थामा प्रहार गर्ने काम गरिरहेका छन्। त्यस्तै विभिन्न मठमन्दिरहरूमा अझ पनि दलित भन्दै कतिपयलाई पस्न नदिने काम भइरहन्छ।

यस्तो कामको सट्टा सबैले मुलुकको विकासको जुक्तिबारे सोच्ने र कार्यान्वयन गर्ने काम गरे मुलुक कति छिटो समृद्धिको बाटोमा अघि बढ्ने थियो होला!

माथि उल्लेख भएझैँ कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेर भाइरल हुने आशामा पनि विभिन्न धार्मिक स्थलमा गएर भिडियो बनाउने तथा गर्न नहुने भनिएका कुराहरू गर्न खोजेर सो गर्न नपाउनuलाई आफ्नो हक र अधिकारमाथि कुठाराघात भएको भनेर नचाहिँदो बखेडा मच्चाउने गरेका छन्।

हाल नेपालमा सरकार र व्यवस्थासँग चित्त बुझेर गरिने आन्दोलनमा समेत धार्मिक तथा साम्प्रदायिक रङ छ्याप्न खोज्ने, धार्मिक स्थलमा तोडफोड र आगजनी गर्न उक्साउने, गरिबीमा बाँचिरहेका तथा विभिन्न भयानक रोगले पिल्सिइरहेका निरीह नागरिकलाई यस्ता र उस्ता धर्म मानेमा प्रभुले कल्याण गर्ने भन्दै धर्म परिवर्तन गर्न उक्साउने तथा घरमा सदियौँदेखि मान्दै आएका भगवानका मूर्ति र शास्त्रका पुस्तकहरू दोबाटोमा लगेर फ्याँक्नुपर्छ भनेर युवा मस्तिष्कलाई गलत बाटोमा लाग्न प्रोत्साहित गर्नेहरू धेरै छन्।

विश्वका सबै धर्म अन्धविश्वासमा चलेका र धर्मका दर्शन पनि मानव जातिले नै बनाएका हुन्। तर पनि समाजलाई अनुशासनमा राख्न र खासगरी बाबुआमा नभएका तथा निरीहहरूलाई मनोवैज्ञानिक अभिभावकत्व प्रदान गर्न धर्मको ठूलो महत्व हुने गर्दछ।

त्यसैले पनि समाजका सबै किसिमका जनहरूले आफ्ना धर्म र संस्कारको पालना गर्ने तथा धर्ममा आस्था नभएकाले पनि त्यस्ता नास्तिक दर्शन मनभित्रै दबाएर सबै जातजाति र धर्मावलम्बीका चाडबाडमा खुसीका साथ सरिक हुँदै कसैको विश्वासमा पनि कुनै आँच नआउने व्यवहार गरेमा धार्मिक र सांस्कृतिक विवाद तथा झैझगडाले समाजमा प्रश्रय पाउने थिएन।

नेपालमा नियम–कानुनको पर्वाह नै नगरेर छाडा भएर हिँड्दा पनि राज्य वा समाजले कुनै ठोस कारबाही गर्दैन। भ्रष्टाचारीले गरेको भ्रष्टाचारको प्रमाण भेटिँदा पनि र नेता तथा कार्यकर्ताहरूले गरेका हत्या, दमन र आगजनी तथा तोडफोडको प्रमाण भेटिँदा पनि कसैलाई कुनै प्रकारको कारबाही हुँदैन।

अदालतका विगतका कैयौँ फैसलाले मानव अधिकार हनन भएको भन्दै विभिन्न जघन्य कसूरका आरोपीलाई पनि मुक्त गर्न सहयोग पुर्‍याएको छ। यस्तो अराजकता छाएको मुलुकमा र समाजमा शान्ति र अमनचैन कायम गर्न निकै कठिन हुने गर्दछ। यहाँ हुने घटनाहरू यदि हाम्रै अन्य छिमेकी मुलुकमा भएको भए त्यस्ता अपराधीहरूलाई हदैसम्मको सजाय हुने थियो।

यस्तो गैरजिम्मेवारीपन समाजमा रहिरहने हो भने एकदिन समाजका विभिन्न वर्गहरूमा एकापसमा ठूलो द्वन्द्व निम्तिन सक्छ र यस्तो अवस्थाबाट गृहयुद्धको अवस्थामा मुलुक पुग्दैन भन्न सकिँदैन।

त्यसैले पनि विश्वका कतिपय मुलुकहरूमा भएका यस्तै अवस्थाबाट ती मुलुकहरू आज गृहयुद्धको चपेटामा परेका र चरम भूराजनीतिक संकट आइपरेर मुलुक तहस नहस हुनुका साथै विभिन्न धार्मिक खेमामा टुक्रिन नै पुगेका उदाहरणहरूबाट पाठ सिकेर हामी नेपालीले त्यस्तो अवस्था हाम्रो देशमा आउन नदिई सबै जातजाति र धर्ममा विश्वास गर्ने नागरिकहरूले एकअर्काको सम्मान गर्दै यो शान्तिप्रिय मुलुकलाई विश्वमा नै शान्ति र सहिष्णुताको उदाहरण बनाउन सक्नुपर्छ।

(लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज र समसामयिक गायक समाजका अध्यक्ष हुन्।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *