अपराध नियन्त्रणमा दृढ भएर लाग्न प्रहरीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन

डिसी नेपाल
३० असोज २०८३ १५:०९
4
Shares

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध नियन्त्रणमा दृढताका साथ लाग्न प्रहरीलाई निर्देशन दिएका छन् ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अनुसन्धानमा निष्पक्षता, सेवा प्रवाहमा संवेदनशीलता र कानुन कार्यान्वयनमा निर्भीक भएर काम गर्न प्रहरीलाई आग्रह गरेका हुन् ।

प्रविधिको विकाससँगै हिंसाका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले नेपाल प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार निर्माण, ट्राफिक उपकरण तथा सवारीसाधन खरिद र विभिन्न तालिम सञ्चालनका लागि आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । त्यसैगरी, विपद्का बेला खोज तथा उद्धारमा प्रयोग हुने सामग्री उपलब्ध गराउन पनि प्रदेश सरकारले सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रहरीले ‘जनताको साथी प्रहरी’ र ‘मुस्कानसहितको सेवा’ जस्ता कार्यक्रममार्फत नागरिकलाई सेवा दिँदै आएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्रबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल र पूर्वप्रहरी सङ्गठन गण्डकीका अध्यक्ष खिमलाल पराजुलीलगायतले प्रहरीको भूमिका र जिम्मेवारीबारे धारणा राखेका थिए ।

प्रहरी दिवसका अवसरमा पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी तथा विभिन्न खोज तथा उद्धार कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *