२२ वर्षमै अमेरिकी रियल इस्टेटमा नेपाली तन्नेरी

ऋषिराम कट्टेल
१ कार्तिक २०८३ १४:३६
44
Shares

अमेरिका। अमेरिकामा सम्भवतः सबैभन्दा कान्छा नेपाली मूलका रियल्टर सृजन न्यौपाने रियल इस्टेटको क्षेत्रमा आफ्नो उज्ज्वल भविष्य खोज्दैछन्।

अमेरिकामा जन्मिएर हुर्किएको नयाँ पुस्ताका नेपाली युवाहरू विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो बलियो पहिचान स्थापित गर्दै अघि बढिरहेका छन्। त्यही उदीयमान पुस्ताका एक सशक्त प्रतिनिधि पात्र हुन्- नर्थ क्यारोलाइना, रालेका २२ वर्षीय सृजन न्यौपाने।

सानै उमेरमा पूर्णकालीन रियल्टर बनेका सृजन सम्भवतः अमेरिकामा जन्मिएका सबैभन्दा कान्छा नेपाली रियल्टरहरूमध्ये एक हुन्। प्रविधि विषयको गहन अध्ययन, विश्लेषणात्मक सोच, पारिवारिक प्रेरणा र ठूलो सपना बोकेर उनी रियल इस्टेट क्षेत्रमा आफ्नो फरक पहिचान निर्माण गर्दैछन्। नर्थ क्यारोलाइनाका सम्भवतः पहिलो नेपाली रियल्टर माधव ढकाल भन्छन्, “उनले रियल इस्टेटको क्षेत्रमा धेरै नै राम्रो गर्न सक्छन् भन्ने ठान्छु।”

सृजन हाल नर्थ क्यारोलाइनाको राजधानी रालेमा रहेको ‘सुरी रियल इस्टेट ग्रुप इन्क’  मा पूर्णकालीन ब्रोकरका रूपमा कार्यरत छन्। उनी घर खरिद, बिक्री तथा रियल इस्टेट लगानीका क्षेत्रमा क्रेता, बिक्रेता तथा लगानीकर्ताहरूलाई किनबेच प्रक्रियामा पूर्ण सहयोग गर्छन्।

यसका साथै उनी ‘सुरी रेन्टल प्रपर्टीज इन्क’  मा रेन्टल म्यानेजरका रूपमा समेत कार्यरत छन्। उनले राले तथा आसपासका क्षेत्रमा रहेका भाडाका घर तथा अन्य आवासीय सम्पत्तिहरूको व्यवस्थापन गर्दै आएका छन्। घरधनी र भाडामा बस्ने व्यक्तिबीच प्रभावकारी समन्वय गर्ने, भाडाका सम्पत्तिको व्यवस्थापन गर्ने र ग्राहकलाई आवश्यक सहयोग उपलब्ध गराउने मुख्य जिम्मेवारी न्यौपानेकै हो।

नर्थ क्यारोलाइनाको फेयेटभिल शहरमा जन्मिएका सृजन नर्थ क्यारोलाइनाकै केरी शहरमा हुर्किएका हुन्। उनले युएनसी शार्लोट बाट कम्प्युटर साइन्समा स्नातक गरेका छन्। आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र गेमिङमा केन्द्रित उक्त स्नातक अध्ययन उनले मात्र तीन वर्षमै पूरा गरेका थिए।

उच्च प्रविधिको अध्ययन गरेका सृजनको प्रारम्भिक करियर पनि प्रविधि क्षेत्रमै केन्द्रित थियो। उनले विभिन्न टेक कम्पनीहरूमा इन्टर्नसिप पनि गरे। तर केही समयपछि दिनभर कम्प्युटरको स्क्रिनअगाडि बसेर काम गर्नु आफ्नो दीर्घकालीन उद्देश्यसँग मेल नखाने अनुभव उनले गरे।

उनलाई मानिसहरूसँग प्रत्यक्ष जोडिएर काम गर्ने तीव्र इच्छा थियो। आफ्नो विश्लेषणात्मक क्षमता, तथ्याङ्कमा आधारित सोच र समस्या समाधान गर्ने सीपलाई मानिसहरूको जीवनसँग जोड्ने क्षेत्रको खोजी गर्दै जाँदा उनले रियल इस्टेटलाई रोजे। सृजन भन्छन्, “रियल इस्टेटले मेरो प्रविधिसम्बन्धी ज्ञान र विश्लेषणात्मक सोचलाई मानिसहरूको सपनाको घर तथा आर्थिक भविष्यसँग जोड्ने सुन्दर अवसर दियो।”

२१ वर्षमै रियल इस्टेट लाइसेन्स

सृजनले जुलाई २०२५ मा २१ वर्षको उमेरमै नर्थ क्यारोलाइनाको रियल इस्टेट लाइसेन्स प्राप्त गरेका थिए। लाइसेन्स पाएपछि उनले यस क्षेत्रलाई आंशिक (पार्टटाइम) कामका रूपमा नभई पूर्णकालीन पेशाका रूपमा अपनाए।

घरजग्गा कारोबारको क्षेत्रमा प्रवेश गरेको छोटो अवधिमै उनले झण्डै एक दर्जन परिवार तथा लगानीकर्तालाई घर खरिद र बिक्रीमा सफलतापूर्वक सहयोग गरिसकेका छन्। कम उमेरका कारण सुरुमा उनलाई अनुभवहीन ठान्नेहरू पनि हुन सक्थे।

तर सृजन उमेरभन्दा पूर्वतयारी, ज्ञान, अनुशासन र ग्राहकप्रतिको जिम्मेवारी बढी महत्त्वपूर्ण हुने विश्वास राख्छन्। उनका लागि प्रत्येक कारोबार केवल घर किनबेचको सामान्य प्रक्रिया मात्र होइन; यो त कुनै परिवारको जीवनको ठूलो निर्णय, आर्थिक भविष्य र दीर्घकालीन सपनासँग जोडिएको विषय हो।

त्यसैले उनी ग्राहकलाई बजारको वास्तविक अवस्था बुझाउने, तथ्याङ्क विश्लेषण गर्ने, सम्भावित जोखिम पहिचान गर्ने र सही निर्णय लिन सहयोग गर्ने काममा विशेष ध्यान दिन्छन्। ब्रोकर तथा रेन्टल म्यानेजर दुवै भूमिकामा कार्यरत भएकाले उनले घर खरिद-बिक्रीसँगै भाडा व्यवस्थापनको व्यावहारिक अनुभव पनि हासिल गरिरहेका छन्। उनी भन्छन्, “यसले मलाई रियल इस्टेट बजारलाई विभिन्न कोणबाट बुझ्न र ग्राहकलाई अझ व्यापक सेवा प्रदान गर्न सहयोग गरेको छ।”

सृजनको रियल इस्टेट यात्रामा उनका बुबाको ठूलो प्रभाव छ। उनका बुबा व्यवसायी सुजन न्यौपाने टेक्सासको लबकमा रियल इस्टेट कन्स्ट्रक्सन तथा घरहरू निर्माणसम्बन्धी व्यवसायमा संलग्न छन्। उनी घर निर्माणमा कहलिएका व्यवसायी हुन्। सानैदेखि बुबाको मेहनत र व्यावसायिक क्षमता देख्दै हुर्किएका सृजनले रियल इस्टेटमा लाग्ने प्रेरणा प्राप्त गरे। “बुबाकै कारण म रियल इस्टेटको क्षेत्रमा संलग्न छु,” सृजन भन्छन्।

चुनौतीपूर्ण बजारमा युवा रियल्टर

अमेरिकी रियल इस्टेट बजार पछिल्ला वर्षहरूमा निकै चुनौतीपूर्ण बनेको छ। उच्च ब्याजदर, सीमित घर आपूर्ति, घर बिक्री हुन लाग्ने लामो अवधि, बढ्दो ऋण र घट्दो खरिद क्षमताले खरिदकर्ता तथा विक्रेता दुवैलाई प्रभावित गरिरहेको छ। यस्तो जटिल अवस्थामा नयाँ ब्रोकरका लागि ग्राहकको विश्वास जित्नु, बजार बुझ्नु र सफल कारोबार सम्पन्न गर्नु सहज छैन।

तर सृजन यस्ता चुनौतीलाई रुकावटभन्दा पनि सिकाइको ठूलो अवसरका रूपमा लिन्छन्। उनका अनुसार बजारको अवस्था कसैको पूर्ण नियन्त्रणमा हुँदैन; तर राम्रो तयारी गर्ने, इमानदार भएर काम गर्ने, ग्राहकलाई सही सूचना दिने र निरन्तर प्रयास गर्ने विषय भने आफ्नै नियन्त्रणमा हुन्छ।

रियल इस्टेटमा प्रत्येक ग्राहकको परिस्थिति फरक हुन्छ। कसैको प्राथमिकता पहिलो घर खरिद गर्नु हुन्छ भने कसैको उद्देश्य दीर्घकालीन लगानी गर्नु हुन्छ। केही ग्राहक जोखिम लिन तयार हुन्छन् भने केही सुरक्षित विकल्प खोज्छन्। बजारको वास्तविक अवस्था र ग्राहकको व्यक्तिगत आवश्यकताबीच सही सन्तुलन कायम गर्नु नै यस पेशाको सबैभन्दा चुनौतीपूर्ण पक्ष रहेको सृजन बताउँछन्।

नयाँ पुस्ताका लागि प्रेरणा

२२ वर्षको उमेरमै उच्च शिक्षा पूरा गर्नु, सुरक्षित मानिने प्रविधि करियरबाट फरक बाटो रोज्नु र चुनौतीपूर्ण रियल इस्टेट बजारमा पूर्णकालीन रूपमा प्रवेश गर्नु सृजनको साहसी निर्णय हो। रियल्टरका रूपमा घर खरिद तथा बिक्रीमा सेवा दिनुका साथै भाडाका सम्पत्तिहरू व्यवस्थापन गर्नुले उनको व्यावसायिक अनुभवलाई अझ फराकिलो बनाएको छ।

सृजनका लागि रियल इस्टेट कारोबारसँगै भविष्यमा उनी ठूलो स्तरका रियल इस्टेट विकासकर्ता (डेभलपर) बन्न चाहन्छन्। व्यावसायिक प्लाजा, रिसोर्ट, गगनचुम्बी भवन र योजनाबद्ध समुदाय निर्माण गर्ने उनको सपना छ।

Screenshot

उनको सोच केवल सम्पत्ति किनबेच वा भाडा व्यवस्थापनमा सीमित छैन; उनी मानिसहरूको जीवन, सहरको स्वरूप र स्थानीय अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने स्थायी संरचना निर्माण गर्न चाहन्छन्। “म आफूभन्दा लामो समयसम्म अस्तित्वमा रहने केही निर्माण गर्न चाहन्छु,” उनी भन्छन्।

लेखक अलेक्जेन्डर स्मिथको विचारबाट प्रभावित सृजन व्यक्तिगत प्रसिद्धिभन्दा दीर्घकालीन सिर्जनालाई बढी महत्त्वपूर्ण ठान्छन्। मानिसको नाम समयसँगै हराउन सक्छ, तर उसले निर्माण गरेका सहर, भवन, संस्था र समुदाय लामो समयसम्म जीवित रहन सक्छन् भन्ने उनको गहिरो विश्वास छ।

उनको यो यात्रा अमेरिकामा हुर्किरहेका नेपाली युवाहरूका लागि पनि उत्तिकै प्रेरणादायी छ। “सृजन न्यौपानेको यात्रा अहिले प्रारम्भिक चरणमै छ,” अमेरिकी वातावरण मन्त्रालयका सल्लाहकार तथा वैज्ञानिक डा. चन्द्र गिरी भन्छन्, “तर उनको स्पष्ट दृष्टिकोण, मेहनत, विश्लेषणात्मक क्षमता र दीर्घकालीन महत्त्वाकाङ्क्षाले उनी भविष्यमा रियल इस्टेट क्षेत्रमा ठूलो नाम बन्न सक्ने सम्भावना देखाउँछ।”

कम उमेरमै सुरु भएको उनको यो यात्रा केवल एक युवा रियल्टरको कथा मात्र होइन; यो ठूलो सपना देख्ने, जोखिम लिन तयार हुने र आफ्नै पहिचान निर्माण गर्न दृढताका साथ अघि बढेको अमेरिकी–नेपाली नयाँ पुस्ताको कथा पनि हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *