तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

डिसी नेपाल
१ कार्तिक २०८३ १५:१२
4
Shares

काठमाडौं। सिन्धुपाल्चोकस्थित नेपाल-चीन जोड्ने तातोपानी नाका तीन दिनका लागि पुनः सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म मालवाहक सवारीसाधनको आवतजावतका लागि मात्र नाका खुला गरिएको हो। चिनियाँ पक्षले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि भदौ १५ देखि नाका पूर्ण रूपमा बन्द गरेको थियो।

दशैं तथा तिहारजस्ता प्रमुख चाडपर्वको समयमा सामान आयात गर्नुपर्ने बेला नाका बन्द हुँदा व्यापार व्यवसाय प्रत्यक्ष प्रभावित भएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। नाका बन्द भई चीनबाट सामान बोकेर आएका कन्टेनरहरू दुवैतर्फ रोकिँदा व्यापारीहरूलाई ठूलो आर्थिक क्षति पुग्नुका साथै नेपाली बजारमा उपभोग्य वस्तुको अभाव हुने जोखिम बढेको छ। रोकिने सामानहरूमा कृषि उत्पादन तथा शीघ्र नष्ट हुने (नाशवान्) वस्तुहरू समेत रहेकाले ती बिग्रिने उच्च जोखिम रहेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघले सीमावर्ती नाका तत्काल र नियमित रूपमा सञ्चालनमा ल्याउन जोडदार माग गरेको छ। संघका महासचिव रामचन्द्र पराजुलीले नाकाको नियमित सञ्चालनका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिँदै तीन दिनको अल्पकालीन खुलावटले मात्र आपूर्ति व्यवस्थापनको समस्या समाधान नहुने स्पष्ट पारेका छन्।

पराजुलीका अनुसार सडक विभाग र स्थानीय सरोकारवालाहरूले अवरुद्ध सडकका पन्छाएर सुरक्षित आवतजावत पुनःस्थापना गरिसकेका छन्। भन्सार जाँचपास तथा सवारीसाधन सहज रूपमा सञ्चालन हुनसक्ने स्थिति रहेकाले नाकालाई निरन्तर रूपमा सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूको माग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *