यस वर्षका चाडपर्व संयमित रूपमा मनाउन पर्वतारोही आङ छिरिङ शेर्पाको आग्रह

डिसी नेपाल
२ कार्तिक २०८३ ९:२२
4
Shares

काठमाडौं। प्रसिद्ध पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले यस वर्षको विजया दशमी (दसैँ), तिहार र छठ पर्व संयमित रूपमा मनाउन आग्रह गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी र असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति गहराे सम्मान व्यक्त गर्दै यस वर्षका चाडपर्व मनाउनुपर्ने उनले बताए।

देश शोकमा रहेको समयमा चाडपर्वका नाममा तडकभडक र अनावश्यक फजुलखर्च नगरी अरू कसैलाई असर नपर्ने गरी सामान्य रूपमा उत्सव मनाउनुपर्ने उनको भनाइ छ। दसैँ, तिहार र छठको शुभकामना व्यक्त गर्दै उनले प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवार तथा समुदायको संवेदनशीलतालाई ध्यानमा राख्न सबैलाई विशेष अनुरोध गरेका छन्।

शेर्पाका अनुसार समयको परिवर्तनसँगै चाडपर्व मनाउने शैली र परम्परामा पनि उल्लेख्य फेरबदल आएको छ। उनी आफ्ना बाल्यकालका दिनहरू सम्झँदै भन्छन्, “पहिले सानो हुँदा दसैँ–तिहार नयाँ लुगा लगाउने र परिवारसँग रमाइलो गर्ने विशेष अवसरका रूपमा लिइन्थ्यो।

त्यस समयमा नयाँ लुगा लगाउँदाको उत्साह र चाडपर्वको प्रतीक्षा बेग्लै हुने गर्दथ्यो।” तर, वर्तमान समयमा सामान्य दिनहरूमा पनि नियमित रूपमा नयाँ लुगा लगाउने अवसरहरू उपलब्ध भइरहने भएकाले विगतको तुलनामा चाडपर्वप्रतिको त्यो परम्परागत उत्साह केही घटेको उनको बुझाइ छ।

यसैगरी, क्रिसमस र अन्तर्राष्ट्रिय नयाँ वर्ष जस्ता वैश्विक पर्वहरू मनाउने चलन तीव्र रूपमा बढ्दै जाँदा नेपाली चाडपर्वको सामाजिक परिवेशमा पनि बदलाव आएको उनले बताए। यस्ता विविध सांस्कृतिक परिवर्तनहरूका बीच आफ्ना मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्।

अर्कातर्फ, पर्यटन व्यवसायीहरूका लागि भने दसैँ-तिहारको समय निकै व्यस्त हुने गरेको शेर्पाले बताए। यही अनुकूल मौसममा विदेशी पर्यटकको आगमन बढी हुने भएकाले व्यवसायीहरूले आफ्ना चाडपर्व मनाउनेसँगै पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ। पर्वका बेला कर्मचारीहरूलाई बिदा दिनुपर्ने र उनीहरूको अनुपस्थितिमा पनि पर्यटकहरूलाई नियमित सेवा उपलब्ध गराउनुपर्ने भएकाले पर्यटन व्यवसायीहरूलाई आफ्ना परिवारसँग पर्याप्त समय बिताउनसमेत कठिन हुने उनले बताए।

उनका अनुसार पर्यटन व्यवसायीहरूले चाडपर्वका अवसरमा आयोजना हुने सबै सामाजिक तथा पारिवारिक कार्यक्रमहरूमा सहभागी हुन नसके पनि नेपाली संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा ठूलो योगदान दिन सक्छन्। पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूले नेपालका चाडपर्व, लोकसंस्कृति र परम्पराबारे गहन अध्ययन तथा अनुसन्धान गरी त्यसको सकारात्मक सन्देश विदेशी पर्यटकहरूमाझ पुर्‍याउनुपर्ने उनले बताए।

शेर्पाले पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना र राष्ट्रिय राजस्व वृद्धिसँग जोड्दै नयाँ-नयाँ सम्भावनाहरूको खोजी निरन्तर गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पर्यटनसँग सम्बन्धित उद्योग तथा व्यवसायहरूको विस्तारले देशमै युवाहरूका लागि रोजगारीका नयाँ अवसरहरू बढाउनुका साथै राजस्व वृद्धिमा समेत महत्त्वपूर्ण सहयोग पुर्‍याउन सक्छ।

अन्तमा, उनले चाडपर्वलाई केवल व्यक्तिगत मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति बुझ्ने, त्यसको सम्मान गर्ने र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको मौलिक पहिचान प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा विशेष जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *