प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट-हिल्सा सडक खुल्यो: दशैं मनाउन घर फर्किनेलाई राहत
सुर्खेत। लगातारको हिमपातका कारण अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट-हिल्सा सडक सोमबार बेलुकीदेखि पुनः सञ्चालनमा आएको छ। नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा चारदेखि पाँच मिटरसम्म बाक्लो हिउँ जमेकाले सडक खुलाउन केही समय लागेको हो।
सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरेर यातायात सहज बनाइएको सडक योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिएका छन्। उनका अनुसार पटक-पटक परेको हिमपातका कारण करिब ९५ किलोमिटर लामो यो सडकखण्ड खुलाउन ठूलो चुनौती थपिएको थियो।
विशेष गरी समुद्री सतहबाट चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक र यारीदेखि हिल्सासम्मको १५ किलोमिटर क्षेत्रमा हिउँको मात्रा निकै बढी रहेको थियो।
ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा जमेको हिउँ हटाउन जेसीबी प्रयोग गरिएको र सडक योजना कार्यालयकै उपकरण, इन्धन तथा अपरेटर परिचालन गरी बाटो खुलाइएको आयोजनाले जनाएको छ।
दसैँ मनाउन घर फर्किनेलाई ठूलो राहत
सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रोकिएका स्थानीयवासी, पर्यटक तथा चीनको पुराङ (ताक्लाकोट) क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीहरू ठूलो मर्कामा परेका थिए। सडक खुलेसँगै उनीहरू हिल्सा नाका हुँदै नेपाल प्रवेश गरी घर फर्किन थालेका छन्। दसैँको मुखमा लामो समयको प्रतीक्षापछि बाटो खुलेपछि घर फर्किने तयारीमा रहेका सर्वसाधारणलाई ठूलो राहत मिलेको छ।
५५ किलोमिटर सडकमा ग्राभेलिङ
कूल ९५ किलोमिटर लामो सिमकोट-हिल्सा सडकखण्डमध्ये हालसम्म करिब ५५ किलोमिटर क्षेत्रमा ग्राभेलिङको काम सम्पन्न भइसकेको छ भने बाँकी सडकमा ट्रयाक मात्र खोलिएको छ।
उच्च हिमाली भूभागमा पर्ने भएकाले यस सडकमा हरेक वर्ष हिमपातका कारण आवागमन ठप्प हुने गर्दछ। सडक पन्छाउने काम सकिएसँगै अहिले हिल्सा क्षेत्रको यातायात आवतजावत पुनः सामान्य बनेको छ।
No ads found for this position




Facebook Comment